बालमैत्री भविष्यतर्फ छेडागाड : बालविवाह अन्त्यका संघर्षहरू

बिहीबार, जेठ ८, २०८२

छेडागाड नगरपालिका जाजरकोट, नेपालको एक पहाडी जिल्ला हो, जहाँ बालविवाह अझै पनि गम्भीर सामाजिक चुनौतीको रूपमा विद्यमान छ। संविधान तथा कानुनले बालविवाह निषेध गरे तापनि, व्यवहारमा यसको न्यूनीकरण सजिलो छैन। परम्परागत सोच, आर्थिक अभाव, शिक्षा र चेतनाको कमी, तथा कमजोर कानुनी कार्यान्वयनले गर्दा समस्या अझ जटिल बनेको छ।

बालविवाहको न्यूनीकरणका लागि छेडागाड नगरपालिका सामाजिक संघसंस्थासँग सहकार्य गर्दै सक्रिय रूपमा लागिरहेको छ। विशेषगरी सेभ द चिल्ड्रेन, पांचतारा युवा संरक्षक मंच लगायतका संघसंस्थाहरूले समुदायमा चेतनामूलक कार्यक्रम, विद्यालयस्तरीय संवाद, सांस्कृतिक प्रस्तुति, बालिका सम्मेलन, र घरदैलो अभियान सञ्चालन गरी सामाजिक व्यवहार परिवर्तनमा टेवा पुर्‍याइरहेका छन्।

आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत वार्षिक विकास कार्यक्रमअन्तर्गत विभिन्न विद्यालयका किशोर–किशोरीलाई लक्षित गर्दै बालविवाह न्यूनीकरणसम्बन्धी अभिमुखिकरण कार्यक्रमहरू सञ्चालन गरिएको छ। साथै, 'बाल भेला' जस्ता सहभागीमूलक गतिविधिहरूबाट बालबालिकाको आवाजलाई नीतिगत तहमा पुर्‍याउने कार्यमा सघाउ पुगेको छ। छेडागाड नगरपालिका अन्तर्गत वडा नं. ४ र ११ पहिल्यै बालमैत्री वडा घोषणा भइसकेका छन् भने वडा नं. १२ र १३ बालविवाह मुक्त वडा घोषणा हुने अन्तिम चरणमा छन्। यसले स्थानीय सरकारको प्रतिबद्धतालाई स्पष्ट पार्दछ।

जनप्रतिनिधिहरूले १६ बुँदे प्रतिबद्धता सार्वजनिक गर्दै बालबालिकाको हकहितमा नीतिगत र बजेटगत प्राथमिकता दिएको देखिन्छ। यद्यपि चुनौतीहरू अझै प्रशस्त छन्। किशोरीमैत्री विद्यालयको अभाव, यौनिक शिक्षा र जीवन सीप शिक्षा नहुनु, गरिबी, अभिभावकको परम्परागत सोच, र कानुनी प्रक्रिया कमजोर हुनु समस्या हुन्। कतिपय घटनामा राजनीतिक हस्तक्षेप वा मिलापत्रको चलनले न्याय प्रणाली कमजोर बनाएको देखिन्छ।

यस्ता अवरोधहरूका बाबजुद, छेडागाडमा देखिएको संस्थागत समन्वय, समुदायको सहभागिता र सचेतना, तथा किशोरीहरूको सशक्त आवाजले बालविवाह न्यूनीकरणको अभियानलाई गति दिएको छ।

आगामी दिनमा शिक्षा प्रणाली सुदृढ पार्ने, कानुनी कार्यान्वयन मजबुत बनाउने, गरिबी न्यूनीकरण गर्ने, र अभिभावक स्तरमा चेतना अभिवृद्धि गर्ने दीर्घकालीन रणनीति आवश्यक छ। यदि यस्ता प्रयासहरू निरन्तर र सशक्त रूपमा अघि बढाइयो भने, छेडागाड निकट भविष्यमा बालमैत्री र बालविवाह मुक्त नमुना नगरपालिका बन्ने दिशातर्फ अग्रसर हुनेछ।

प्रकाशित मिति: बिहीबार, जेठ ८, २०८२  ११:०४
प्रतिक्रिया दिनुहोस्