हामीले भारत–पाकिस्तानलाई नलड्न सुझाव दियौं : प्रधानमन्त्री

सोमबार, वैशाख २९, २०८२

बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत र पाकिस्तानबीच हात हालाहाल हुन लागेको तर आफूहरुले त्यसो नगर्न सुझाव दिएको बताएका छन् ।

आज लुम्बिनीमा आयोजित बुद्ध जयन्तीमा समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले ओलीले सो कुरा बताएका हुन् ।

उनले भने, ‘भर्खर केही दिन अगाडि मात्रै हाम्रै छिमेकमा झण्डै झण्डै भारत र पाकिस्तानको अलिकति हात हालाहाल त भएको थियो । तर, हात हालाहाल बढ्न पाएन । संयमका लागि उहाँहरूलाई धन्यवाद छ । हामीले सुरुदेखि भन्यौं, विस्तार हुन नपाओस् है यो । यो हात हालाहालको स्थिति लडाइँमा परिणत हुन नपाओस् भनेर कामना गर्‍यौं । उहाँहरूसँग पनि कुरा गर्‍यौं, नभन्दै उहाँहरूले लडाइँमा जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।’

भारत–पाकिस्तानबीच फेरि पनि आरोप प्रत्यारोपको स्थिति रहेको भन्दै उनले बुद्धका शान्तिका सन्देशहरूको अर्थ अहिले पनि र जहाँ पनि रहेको बताए ।

बुद्ध जन्मस्थल लुम्बिनी विश्वमा शान्तिको सन्देश छर्ने पवित्र भूमि भएको उनले बताए । लुम्बिनीमा आयोजित बुद्ध जयन्तीमा समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले बुद्धका शान्ति, प्रेम र करुणा फैलाउने तथा संसारमै हिंसा नहोस् भन्ने सन्देश अहिले पनि उत्तिकै सान्दर्भिक भएको उल्लेख गरे ।

प्रकाशित मिति: सोमबार, वैशाख २९, २०८२  १३:३४
प्रतिक्रिया दिनुहोस्