प्रधानमन्त्री वालेन शाहको घोषणा : NPL का आठ क्लबले आफ्नै क्रिकेट रंगशाला पाउने

शनिबार, मंसिर ५, २०८३

काठमाडौं । प्रधानमन्त्री वालेन शाहले नेपाल प्रिमियर लिग (NPL) को विजेता सुदूरपश्चिम रोयल्सलाई हार्दिक बधाई दिँदै नेपाली क्रिकेटको पूर्वाधार विकासका लागि महत्वपूर्ण योजना सार्वजनिक गरेका छन्।

प्रधानमन्त्री शाहले नेपाल प्रिमियर लिगको छैटौँ संस्करणदेखि प्रतियोगिता होम एन्ड अवे प्रणालीमा सञ्चालन गर्ने गरी सहभागी आठवटै क्लबका आफ्नै फ्लडलाइटसहितका क्रिकेट रंगशाला निर्माण गरिने बताएका हुन्।

उनका अनुसार क्रिकेट रंगशाला नेपाल सरकारको पूर्वाधार विकास मन्त्रालयले निर्माण गरिदिनेछ। यस योजनाअन्तर्गत देशका आठवटै क्लबले आ–आफ्नो क्षेत्रमा आधुनिक सुविधासहितका क्रिकेट रंगशाला प्राप्त गर्नेछन्।

प्रधानमन्त्री शाहले सार्वजनिक गरेको विवरणअनुसार कैलालीको फाप्ला क्रिकेट रंगशालाको निर्माण प्रक्रिया यसअघि नै अघि बढिसकेको छ। बाँकी रंगशालासहित सबै आठवटै रंगशालाको निर्माण प्रक्रिया आगामी तीन महिनाभित्र अघि बढाइने बताइएको छ।

योजनाअनुसार विराटनगर किंग्सका लागि बैजनाथपुर क्रिकेट रंगशाला, लुम्बिनी लायन्सका लागि सिद्धार्थ क्रिकेट रंगशाला र कर्णाली याक्सका लागि सुर्खेत क्रिकेट रंगशाला निर्माण गरिनेछ।

त्यस्तै, सुदूरपश्चिम रोयल्सका लागि फाप्ला क्रिकेट रंगशाला, काठमाडौं गुर्खाजका लागि कीर्तिपुर क्रिकेट मैदान, पोखरा एभेन्जर्सका लागि पोखरा क्रिकेट रंगशाला, जनकपुर बोल्ट्सका लागि रामजानकी क्रिकेट रंगशाला तथा चितवन राइनोजका लागि गौतमबुद्ध क्रिकेट रंगशालालाई सम्बन्धित क्लबका घरेलु मैदानका रूपमा विकास गर्ने योजना सार्वजनिक गरिएको छ।

प्रस्तावित योजनाअनुसार आठवटै रंगशालामा फ्लडलाइटको व्यवस्था गरिनेछ। यसले रातिको समयमा समेत क्रिकेट प्रतियोगिता सञ्चालन गर्न सहज बनाउने अपेक्षा गरिएको छ।

त्यसैगरी, होम एन्ड अवे प्रणाली लागू भएपछि प्रतियोगिताका खेलहरू एउटै रंगशालामा सीमित नरही सम्बन्धित क्लबका घरेलु मैदानमा समेत सञ्चालन हुनेछन्। यसबाट विभिन्न क्षेत्रका दर्शकले आफ्नै ठाउँमा राष्ट्रियस्तरको व्यावसायिक क्रिकेट प्रतियोगिता हेर्न पाउने अवसर सिर्जना हुने अपेक्षा गरिएको छ।

प्रधानमन्त्री शाहले क्रिकेटको व्यावसायिक विकास र विस्तारका लागि आवश्यक पूर्वाधार निर्माण गर्न सरकार तयार रहेको बताएका छन्।

आठवटै क्लबका लागि छुट्टाछुट्टै क्रिकेट रंगशाला निर्माण गर्ने योजना कार्यान्वयन भएमा नेपालमा व्यावसायिक क्रिकेटको संरचनागत विकासमा महत्वपूर्ण योगदान पुग्न सक्नेछ। विशेषगरी क्षेत्रीयस्तरमा क्रिकेट गतिविधि विस्तार, खेलाडी उत्पादन तथा प्रतियोगिता सञ्चालनका लागि आवश्यक पूर्वाधार विकासमा यसले सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।Screenshot-2026-11-21-202338-1795271939.png

प्रकाशित मिति: शनिबार, मंसिर ५, २०८३  २०:३०
प्रतिक्रिया दिनुहोस्
समाचार
विचार