भोटेकोशी बाढीपीडितलाई हिमालय विद्या निकेतनको २ लाख २ हजार सहयोग

शुक्रबार, असोज २, २०८३

बाँके । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनर्स्थापनाका लागि बैजनाथ–५, जी गाउँस्थित हिमालय विद्या निकेतन माध्यमिक विद्यालयले रु. २ लाख २ हजार २ सय २ रुपैयाँ आर्थिक सहयोग गरेको छ।

विद्यालयले विद्यार्थी, शिक्षक तथा कर्मचारी र विद्यालयको तर्फबाट संकलन गरेको उक्त रकम असोज २ गते नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोगका लागि NPABSAN Banke मार्फत हस्तान्तरण गरेको हो।

विद्यालयका अनुसार सहयोग रकममध्ये विद्यार्थीहरूबाट रु. ३३ हजार ५ सय ४५, सम्पूर्ण शिक्षक तथा कर्मचारीबाट रु. ६१ हजार ३ सय ८३ तथा विद्यालयको तर्फबाट रु. १ लाख ७ हजार २ सय ७४ संकलन गरिएको थियो। संकलित कुल रु. २ लाख २ हजार २ सय २ रुपैयाँ विद्यालयको तर्फबाट NPABSAN Banke का अध्यक्ष चिरञ्जीवी चन्दलाई हस्तान्तरण गरिएको विद्यालयले जनाएको छ।

सो रकम सम्बन्धित कोषमा पुर्‍याउन आवश्यक सहजीकरण तथा समन्वय NPABSAN Banke ले गर्नेछ। विद्यालयका सञ्चालक श्याम कुँवरले विपद्का समयमा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै विगतका वर्षहरूमा समेत विद्यालयले सहयोग गर्दै आएको बताउनुभयो। देशमा भूकम्प, बाढीलगायतका प्राकृतिक विपद् आउँदा विद्यालय परिवारले आफ्नो क्षमताअनुसार सहयोग गर्दै आएको उहाँको भनाइ छ।

हालै रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण ठूलो संख्यामा परिवार प्रभावित तथा विस्थापित भएको अवस्थामा मानवीय सहयोग आवश्यक देखिएकाले विद्यालय परिवारले सहयोग संकलन गरी हस्तान्तरण गरेको सञ्चालक कुँवरले बताउनुभयो। विद्यालयले विपद्को यस घडीमा विद्यार्थी, शिक्षक, कर्मचारी तथा विद्यालय परिवारबाट प्राप्त सहयोगले पीडित परिवारको राहत तथा पुनर्स्थापनामा केही योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

विद्यालयले सहयोग रकम संकलनमा सहभागी सम्पूर्ण विद्यार्थी, शिक्षक तथा कर्मचारीप्रति धन्यवाद व्यक्त गर्दै रकम सम्बन्धित निकायसम्म पुर्‍याउन सहजीकरण तथा समन्वय गरिदिएकोमा NPABSAN Banke का अध्यक्ष चिरञ्जीवी चन्दप्रति विशेष आभार व्यक्त गरेको छ।

हिमालय विद्या निकेतनले शिक्षा प्रदान गर्ने संस्थाका रूपमा आफ्नो नियमित शैक्षिक जिम्मेवारीसँगै विपद् तथा सामाजिक समस्याका समयमा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, असोज २, २०८३  १७:२६
प्रतिक्रिया दिनुहोस्
समाचार
विचार