श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी छन् : राष्ट्रपति पौडेल

शुक्रबार, भदौ १९, २०८३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी रहेको बताएका छन् ।

श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले सुख, शान्ति र सुस्वास्थ्यको कामना गरेका हुन् । विश्वभर सनातन धर्म र संस्कृतिको संरक्षण तथा विकासमा योगदान गर्नेले मानव जीवनका लागि मूल्यवान् धर्म, कर्म, प्रेम, नीति र ज्ञानका सन्देश प्रवाह गर्ने भगवान् श्रीकृष्णको पूजा–आराधना गरी यो पर्व मनाइने राष्ट्रपति पौडेलले बताए ।

विशेषगरी ललितपुरको पाटनस्थित कृष्ण मन्दिरसहित देशभरका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना गरी यो पर्व मनाइन्छ ।

स्वार्थरहित कर्म, सत्य, न्याय र धर्ममा अडिग रहने, शुद्ध मन र त्यागपूर्ण व्यवहार गर्ने तथा कर्तव्यप्रति सधैँ प्रतिबद्ध रहने श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी रहेको राष्ट्रपति पौडेलले बताएका हुन् ।

राष्ट्रपति पौडेलले बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त नेपाली समाजलाई भावनात्मक एकताको सूत्रमा बाँध्दै आपसी सद्भाव कायम गर्न र सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्न श्रीकृष्ण जन्माष्टमी पर्वले सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।

उनले श्रीकृष्ण जन्माष्टमी पर्वले आपसी सद्भाव, करुणा, कर्म, योग र मैत्रीभाव बढाउँदै सभ्य र सुसंस्कृत समाज निर्माणका लागि प्रेरणा प्रदान गरोस् भन्ने कामना समेत गरे । रासस

प्रकाशित मिति: शुक्रबार, भदौ १९, २०८३  ०८:२६
प्रतिक्रिया दिनुहोस्
समाचार
विचार