सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
काठमाण्डौं l रसुवा क्षेत्रमा आएको बाढीपछि सरकारले उद्धार, राहत तथा प्रभावित नागरिकको सुरक्षालाई प्राथमिकतामा राख्दै विभिन्न सुरक्षा निकाय तथा सम्बन्धित संयन्त्रलाई परिचालन गरेको जनाएको छ।
प्रधानमन्त्री बालेनका अनुसार नेपाली सेना, सशस्त्र प्रहरी बल (एपीएफ) र नेपाल प्रहरीलाई उद्धार तथा राहतका लागि प्रभावित क्षेत्रमा परिचालन गरिएको छ। अन्य जिल्लाबाट समेत थप जनशक्ति प्रभावित क्षेत्रतर्फ पठाइसकिएको बताइएको छ।
विपद् व्यवस्थापन प्राधिकरणलाई सक्रिय बनाउँदै मेडिकल टोली, नेपाल स्काउट, रेडक्रसलगायतका निकायसँग समन्वय गरी आवश्यक उद्धार तथा राहतका काम अघि बढाइएको छ। थप एम्बुलेन्स तथा स्वास्थ्यकर्मी प्रभावित क्षेत्रमा पठाउने प्रक्रिया पनि सुरु गरिएको छ।
सम्भावित जोखिमलाई मध्यनजर गर्दै तल्लो तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित प्रमुख जिल्ला अधिकारी (सीडीओ)लाई निर्देशन दिइएको छ। नागरिकलाई एसएमएस तथा फोनमार्फत समेत सतर्क गराउँदै सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।
सम्भावित उद्धार तथा राहतका लागि हेलिकप्टरहरू प्रभावित क्षेत्रतर्फ पठाइएको र निजी हेलिकप्टर कम्पनीहरूलाई समेत तयारी अवस्थामा राख्न भनिएको जनाइएको छ। केही निजी हेलिकप्टरसमेत प्रभावित क्षेत्रतर्फ परिचालन भइसकेका छन्।
यसैबीच, आगामी आवश्यक कदमबारे निर्णय लिन उच्चस्तरीय बैठक बोलाइएको छ। सरकारले सबै नागरिकलाई सुरक्षित स्थानमा रहन र आफन्तसँग सम्पर्क हुन नसकेको अवस्थामा सम्बन्धित निकायबाट आउने रेस्क्यु अपडेट पर्खन आग्रह गरेको छ।