मलेसियामा घाइते प्रेमबहादुर अब घर फर्किँदै, एनआरएन मलेसियाको पहलमा उद्धार

बिहीबार, साउन २८, २०८३


नेपालगञ्ज — रोजगारीको सिलसिलामा मलेसिया पुगेका जाजरकोट जुनीचाँदे २ का प्रेमबहादुर परियार अब स्वदेश फर्किने भएका छन्।

आर्थिक अभावका कारण लामो समयदेखि मलेसियामै अलपत्र परेका परियारलाई एनआरएन मलेसियाका सचिव, समाजसेवी रामप्रसाद शर्माको विशेष पहलमा नेपाली दूतावाससँग समन्वय गरी घर फर्काउने प्रक्रिया अघि बढाइएको हो।

परियार रोजगारीका लागि मलेसिया पुगेपछि मेडिकल परीक्षणमा असफल भएका थिए। त्यसपछि उनी अर्को कम्पनीमा काम गर्दै आएका थिए। सोही क्रममा मोटरसाइकल दुर्घटनामा परी खुट्टामा चोट लागेपछि उपचार तथा स्वदेश फर्किने खर्च जुटाउन नसक्दा उनी समस्यामा परेका थिए।

दुर्घटनापछि आर्थिक अभावका कारण स्वदेश फर्किन नसकेका परियारलाई घर फर्काउन एनआरएन मलेसियाका सचिव शर्माले पहल गरेका हुन्। नेपाली दूतावाससँग आवश्यक समन्वयपछि अब उनको स्वदेश फिर्तीको बाटो खुलेको छ।

मलेसियामा समस्यामा परेका, घाइते तथा आर्थिक अभावमा रहेका नेपाली श्रमिकलाई सचिव रामप्रसाद शर्मा, भक्त बहादुर टमट्टा र एनआरएन मलेसियाले सहयोग गर्दै आएका छन ।

आर्थिक अभावका कारण विदेशमै अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउन हुने यस्ता पहलले पीडामा रहेका श्रमिकका लागि ठूलो राहत पुग्ने देखिन्छ।

प्रकाशित मिति: बिहीबार, साउन २८, २०८३  १४:२४
प्रतिक्रिया दिनुहोस्
समाचार
विचार