देवानगञ्ज घटनामा सरकार र पीडित परिवारबीच सहमति

शुक्रबार, साउन १५, २०८३

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा १० साउनमा भएको गोलीकाण्डका सम्बन्धमा सरकार र पीडित परिवारबीच ७ बुँदे सहमति भएको छ ।

शुक्रबार बिहान गृहमन्त्री सुधन गुरुङ र दुवै पीडित परिवारबीच लिखित सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतापछि अस्पतालमा रहेका मृतक ओमप्रकाश मेहता र जयप्रकाश मेहताको शव परिवारले बुझ्नेछन् ।

सहमतिअनुसार नेपाल सरकारले मृतक दुवैलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउनेछ । साथै, मृतकका परिवारलाई जनही १० लाख रुपैयाँ राहत उपलब्ध गराइनेछ । प्रत्येक परिवारका एक जना योग्य सदस्यलाई रोजगारीको अवसर पनि प्रदान गरिनेछ ।

सम्झौतापत्रमा गृहमन्त्री सुधन गुरुङ तथा पीडित पक्षका तर्फबाट मृतक ओमप्रकाश मेहताका अभिभावक कुशदेव मेहता र जयप्रकाश मेहताका अभिभावक नरेश मेहताले हस्ताक्षर गरेका छन् ।

बिहीबार रातभर भएको छलफलपछि शुक्रबार बिहान करिब ५ बजे सहमति भएको हो । सम्झौतासँगै पीडित परिवारले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका छन् । मृतकद्वयको अन्त्येष्टि आज दिउँसो २ बजे गरिने जनाइएको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन १५, २०८३  ०८:१३
प्रतिक्रिया दिनुहोस्
समाचार
विचार