सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
बाँके l कोहलपुर नगरपालिकाका मेयर पूर्ण प्रसाद आचार्यसहितको टोलीले राष्ट्रिय भूमि आयोगका केन्द्रीय पदाधिकारीहरूसँग महत्वपूर्ण भेटवार्ता गरेको छ ।
नगरभित्रका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण–पुर्जा वितरण प्रक्रिया यथाशीघ्र पुनः सुरु गर्न मेयर नेतृत्वको टोलीले आग्रह गरेको हो।
भेटका क्रममा नगरपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण–पुर्जा उपलब्ध गराउने प्रक्रियाका लागि आफ्नो तर्फबाट गर्नुपर्ने सम्पूर्ण जिम्मेवारी पूरा गरिसकेको जानकारी गराएको थियो।
नगरपालिकाले विशेषगरी जेन्जी आन्दोलनपछि रोकिएको जग्गाधनी प्रमाण–पुर्जा वितरण कार्य तत्काल पुनः सञ्चालन गर्न आयोगको ध्यानाकर्षण गराएको छ। साथै वडा नं. १ मा वितरण गरिएका जग्गाधनी प्रमाण–पुर्जाको मालपोत कार्यालयमा श्रेस्ता कायम गर्ने, तथा वडा नं. २, १२ र १३ मा पर्ने मध्यवर्ती क्षेत्रसँग सम्बन्धित समस्या समाधान गर्न पनि आयोगसँग आग्रह गरिएको छ।
नगरपालिकाको आग्रहप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै भूमि आयोगका अध्यक्ष सहित केन्द्रीय पदाधिकारीहरूले आयोग र नगरपालिकाबीच आवश्यक समन्वय गरी प्रक्रिया छिट्टै अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
लामो समयदेखि जग्गाधनी प्रमाण–पुर्जाको प्रतीक्षामा रहेका भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका लागि यस भेटलाई महत्वपूर्ण प्रगतिका रूपमा हेरिएको छ।