प्रचण्डले पेश गरे समाजवादको राजनीतिक रूपरेखा

शुक्रबार, साउन १, २०८३

कोलम्बो । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले इन्टरनेशनल पिपुल्स एसेम्बलीद्वारा आयोजित ‘हेण्ड्स अफ एशिया’ अन्तर्राष्ट्रिय सम्मेलन लाई सम्बोधन गरेका छन् ।

सम्मेलनको उद्घाटन सत्रमा प्रमुख वक्ताका रूपमा प्रचण्डले एसियाली कम्युनिस्ट आन्दोलनका ऐतिहासिक उपलब्धि, चुनौती र त्यसबाट सिकिएका महत्त्वपूर्ण पाठबारे विश्लेषण गरे ।

बदलिँदो वैश्विक शक्ति सन्तुलन र महाशक्तिहरूबीच बढ्दो प्रतिस्पर्धाका बीच असंलग्नताको नीति तथा समाजवादी निर्माण उत्पीडित राष्ट्रहरूको साझा ऐतिहासिक आवश्यकता रहेको भन्दै दाहालले राजनीतिक रूपरेखा प्रस्तुत गरेका छन् ।

सम्मेलनमा श्रीलंकाका वातावरण मन्त्री डा. दम्मिका पाताबेन्दीले अन्तर्राष्ट्रिय मुद्रा कोषको ऋण कार्यक्रमका कडा सर्त र अनुशासनको सामना गर्दै जनपक्षीय विकासको वैकल्पिक मार्गबारे धारणा राखे ।

विश्वप्रसिद्ध मार्क्सवादी लेखक, इतिहासकार तथा ‘ट्राइकोन्टिनेन्टल: इन्स्टिच्युट फर सोसल रिसर्च’ का संयोजक विजय प्रसादले विश्वव्यापी सैन्यीकरण, सार्वभौम ऋण संकट र उग्र दक्षिणपन्थको उदयलाई एउटै साम्राज्यवादी संरचनाका परस्पर सम्बन्धित अभिव्यक्तिका रूपमा विश्लेषण गर्दै वर्तमान अन्तर्राष्ट्रिय राजनीतिक परिवेशको चित्र प्रस्तुत गरे ।

तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा विभिन्न राजनीतिक तथा वैचारिक विषयमा छलफल हुनेछ। प्रचण्डले एसियाका विभिन्न कम्युनिस्ट तथा वामपन्थी दलका नेताहरूसँग द्विपक्षीय र बहुपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

साइडलाइनमा उनले क्युबा, भेनेजुएला, ब्राजिललगायत ल्याटिन अमेरिकी मुलुकबाट सहभागी शीर्ष वामपन्थी नेताहरूसँग भेटवार्ता गरेका छन् ।

सम्मेलनको दोस्रो सत्रमा नेपाली कम्युनिस्ट पार्टीका नेता बलराम बास्कोटाले इन्टरनेशनल पिपुल्स एसेम्बलीका तर्फबाट ‘वामपन्थी शक्तिहरूबीचको विभाजनमा साम्राज्यवादको भूमिका’ विषयमा विशेष वैचारिक कार्यपत्र प्रस्तुत गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, साउन १, २०८३  ११:३४
प्रतिक्रिया दिनुहोस्