प्रचण्ड सहित ६ जना नेता श्रीलंका गए

बुधबार, असार ३१, २०८३

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित ६ जना नेता श्रीलंका गएका छन् ।  प्रचण्डसँगै नेकपाका नेताहरू बलराम बास्कोटा, बलदेव चौधरी, दामा शर्मा, माधव पन्त र गंगा दाहाल पनि श्रीलंका गएका छन् । 

कम्युनिस्ट, समाजवादी, प्रगतिशील तथा वामपन्थी शक्तिहरूको अन्तर्राष्ट्रिय सञ्जाल इन्टरनेशनल पिपुल्स एसेम्बलीको आयोजनामा श्रीलंकाको कोलम्बोमा जुलाई १६ देखि १८, २०२६ सम्म आयोजना हुने कार्यक्रममा सहभागी हुन प्रचण्डसहितको टोली श्रीलंका प्रस्थान गरेको हो ।

तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलंका, माल्दिभ्स, चीन, ताइवान, कोरिया, फिलिपिन्स, थाइल्यान्ड, मलेसिया, इरान, लेबनान, जापान, अस्ट्रेलिया, इन्डोनेसिया लगायत एसियाली मुलुकका कम्युनिस्ट, समाजवादी तथा प्रगतिशील राजनीतिक दलका नेताहरूको सहभागिता रहने आयोजकले जनाएको छ ।

सम्मेलनमा जलवायु परिवर्तन, विश्व तथा क्षेत्रीय आर्थिक सङ्कट, सैन्यीकरण र नव–नाजी प्रवृत्तिको विस्तार, एसियाली क्षेत्रमा वैदेशिक हस्तक्षेप, क्षेत्रीय शान्ति तथा स्थायित्व, र समाजवाद निर्माणका लागि एसियाली मुलुकहरूबिचको एकता र सहकार्यका विषयमा विस्तृत छलफल हुने कार्यक्रम रहेको छ ।

भ्रमणका क्रममा प्रचण्डले श्रीलंकाका राष्ट्रपति, प्रधानमन्त्री, जनता विमुक्ति पेरामुनाका महासचिव, कम्युनिस्ट पार्टी अफ श्रीलंकाका महासचिव लगायत एसियाका विभिन्न देशका दर्जनभन्दा बढी राजनीतिक नेताहरूसँग शिष्टाचार भेट तथा द्विपक्षीय छलफल गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

भेटवार्तामा क्षेत्रीय राजनीतिक अवस्था, आर्थिक सहकार्य, प्रगतिशील शक्तिहरूबिचको सम्बन्ध सुदृढीकरण तथा साझा अन्तर्राष्ट्रिय मुद्दामा सहकार्यका सम्भावनाबारे विचार आदानप्रदान हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: बुधबार, असार ३१, २०८३  १६:४३
प्रतिक्रिया दिनुहोस्