पूर्वी नेपालमा विपद् प्रतिकार्यमा सेनाको तयारी पूरा

शुक्रबार, असार १९, २०८३

काठमाडौँ । नेपाली सेनाको पूर्वी पृतना र कोशी प्रदेशका १४ जिल्लामा तैनाथ सेनाका युनिटले छैटौँ संस्करणको ‘अभ्यास मनसुन’ सम्पन गरेका छन् । विपद् प्रतिकार्य तयारीका लागि कोशीमा मनसुनजन्य बाढी, पहिरो, डुबान, आगलागी, सवारी दुर्घटना तथा अन्य विपद्लाई लक्षित गर्दै सम्पूर्ण सुरक्षा निकायसँग समन्वय गरी उच्च सतर्कतासहित आवश्यक तयारी गरिएको पूर्वपृतनापति एवं नेपाली सेनाका उपरथी गौरवकुमार केसीले जानकारी दिए ।

मनसुनजन्य विपदलाई मध्यनजर राख्दै श्री नं १ विपद् व्यवस्थापन गण, काठमाडौँबाट विपद् प्रतिकार्यमा दक्ष जनशक्ति आवश्यक उपकरणसहित इटहरीस्थित पूर्वी पृतनामा तयारी अवस्थामा राखिएको छ । कोशीका सबै जिल्लामा उद्धार टोली २४सैँ घण्टा तयारी अवस्थामा राखिएको उनले जानकारी दिए । उद्धारका लागि डुङ्गा, ‘लाइफ ज्याकेट’, डोरी, ‘स्ट्रेचर’, ‘कटर’, सञ्चार उपकरणलगायत अन्य आवश्यक सामग्री व्यवस्थापन गरिएको छ ।

खोज तथा उद्धारमा दक्ष जनशक्तिको परिचालन तथा विपद् परिस्थितिजन्य तालिम तथा अभ्यास सम्पन्न भइसकेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त निर्देशनबमोजिम मनुसन प्रतिकार्य कमाण्ड पोष्ट सबै तहमा स्थापना गरी कार्यान्वयन गरिएको उपरथी केसीले जानकारी दिए ।

प्रदेश, जिल्ला र स्थानीय तहका विपद् व्यवस्थापन समितिसँग समन्वय र सूचना आदान–प्रदानको व्यवस्था सुदृढ बनाइएको छ । मौसम पूर्वानुमान तथा बाढीपहिरोसम्बन्धी पूर्वसूचनाको निरन्तर निगरानी गरी आवश्यक परे तत्काल उद्धार तथा राहत परिचालनको तयारी गरिएको छ ।

विभिन्न किसिमका सवारी दुर्घटना तथा प्राकृतिक प्रकोपका कारण हुनसक्ने ठूलो हताहतीको अवस्थामा इटहरीस्थित सैनिक अस्पतालबाट छिटो र प्रभावकारी ढङ्गले स्वास्थ्य सेवा प्रदान गर्न सोसम्बन्धी पूर्वाभ्यास सञ्चालन गरिएको थियो ।

सेनाले नागरिकलाई आधिकारिक सूचना पालना गर्न, जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न तथा आपत्कालीन अवस्थामा नजिकको सुरक्षा निकायमा सम्पर्क गर्न आग्रह गरेको छ । रासस

 

प्रकाशित मिति: शुक्रबार, असार १९, २०८३  १३:१६
प्रतिक्रिया दिनुहोस्
समाचार
विचार