सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
विराटनगर । नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तत्काल सहकार्य गरिने बताएका छन् ।विराटनगरमा आयोजित प्रदेशस्तरीय बैठकलाई सम्बोधन गर्दै उनले एमालेसँग तत्काल एकता नभएपनि सडकदेखि सदनसम्म कार्यगत एकता गरेर अघि बढ्ने बताएका हुन् ।
‘हिजै हामी समाजवादी मोर्चामा भएकाहरूसँग एकता छिट्टै हुँदैछ र नेकपा एमालेसँग सहकार्य हुँदैछ,’ उनले भने, ‘पार्लियामेन्टमा सहकार्य, सडकमा सहकार्य र आउने प्रदेश र स्थानीय तहको चुनावमा सहकार्यको सहमति हुँदैछ ।’ उनले तत्काल पार्टी एकता नगरेपनि सहकार्य गरेर अघि बढ्ने बताए ।
‘अहिले एमालेसँग तत्कालै एकताको कुरा हामीले गरेका छैनौँ, सहकार्य पार्लियामेन्ट्री संघर्षमा, सडक सङ्घर्षमा र चुनावमा सहकार्य गर्दा नयाँ ठाउँमा पुर्याउन सकिन्छ,’ उनले भने, ‘पार्लियामेन्टमा हामी एउटा शक्तिको साथ उपस्थित हुन सकिन्छ । त्यसकारण दोस्रो हामीले भनेका छौं सहकार्य वामपन्थीहरूसँग ।’
आफूमाथि हुने गरेका आलोचना र सामाजिक सञ्जालको गालीलाई सामान्य रूपमा लिँदै प्रचण्डले कार्यकर्ताहरूलाई बोल्ड भएर अगाडि बढ्न आग्रह गरे । आफूहरू ‘घण्टी बजाउने भिक्षु’ नभएको टिप्पणी गर्दै उनले जुनसुकै बेला क्रान्तिकारी निर्णय लिन सक्ने बताए । ‘हामी जस्तोसुकै क्रमभङ्ग गर्न तयार भएका मान्छे हौँ, क्रमभङ्ग गर्दै आएको हो, महाधिवेशनमा अर्को क्रमभङ्ग गरिन्छ, तपाईंहरू बोल्डली अगाडि आउनुस्,’ उनले भने, ‘नहिचकिचाइकन, नडराइकन, भ्रममा नपरीकन अगाडि आउनु र हेर्नुस् क्रमभङ्ग कस्तो हुँदो रहेछ । प्रचण्डको अन्तिम क्रमभङ्ग हेरेर अगाडि बढ्नुस् ।’