रास्वपा महाधिवेशन: ९९ सदस्यका लागि ४ सयभन्दा बढीको उम्मेदवारी

बुधबार, असार १०, २०८३

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ९९ केन्द्रीय सदस्य पदका लागि तेब्बरभन्दा बढीले उम्मेदवारी दर्ता गराएका छन्।चितवनमा जारी प्रथम महाधिवेशनमा मंगलबार साँझ ७ बजे सुरु उम्मेदवारी दर्ता आज बिहान २ बजेसम्म चलेको रास्वपा निर्वाचन आयोगका उपप्रमुख राम गुरुङले जानकारी दिए।

‘चार सयभन्दा बढीले उम्मेदवारी दर्ता गराएको देखिन्छ, यो प्रारम्भिक विवरण हो, हामी उम्मेदवारी दिएकाको नाम रुजु गरिरहेका छौँ’, उनले भने, ‘केन्द्रीय सदस्यका लागि अधिकांश मन्त्री र सांसदले मनोनयन गरेका छन्।’ रास्वपाका १८२ जना सांसद र १६ जना मन्त्री छन्। रास्वपाको विधानअनुसार पहिलो चरणमा सभापति र ९९  जना केन्द्रीय सदस्य पदका लागि निर्वाचन हुनेछ। जुन आज गरिँदै छ। 

यद्यपि सभापति पदमा अन्य कसैको उम्मेदवारी नपरेपछि रवि लामिछाने मंगलबारै निर्विरोध निर्वाचित भइसकेका छन्।‘अब उम्मेदवारउपर दाबी-विरोध, उम्मेदवारी फिर्ताको समय दिइनेछ’, उनले भने, ‘अनि आजै केन्द्रीय सदस्यका लागि निर्वाचन हुनेछ।’

उम्मेदवारी दिएकाहरूले मंगलबार बेलुकादेखि नै आफ्ना लागि मत मागिरहेका छन्। उनीहरूले रातभर मत मागिरहेका थिए। चितवन उद्योग संघको परिसरस्थित प्रदर्शनी केन्द्रको हलमा मतदान हुनेछ। नेपालखबर

प्रकाशित मिति: बुधबार, असार १०, २०८३  ०८:०७
प्रतिक्रिया दिनुहोस्