नेपाल–भारत सम्बन्धमा ‘रिसेट’ भएको छ : रवि

शुक्रबार, जेठ २२, २०८३

काठमाडौं । झण्डै दुई तिहाइ नजिकको सरकार गठन गरेपछि पहिलोपटक छिमेकी मुलुक भारतको भ्रमण सकेर रास्वपा सभापति रवि लामिछाने फर्किएका छन् ।

पाँच दिन लामो भ्रमण गरेका सभापति लामिछाने शुक्रबार साँझ स्वदेश फर्किएका हुन् । भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणमा भारत गएका सभापति लामिछानेले यो भ्रमणबाट नेपाल–भारत सम्बन्धमा ‘रिसेट’ भएको बताएका छन् ।

नयाँ सरकार बनेपछि भएको यो भ्रमणबाट आफूले कुन कुन विषयलाई प्राथमिकीकरण गर्न सक्छौं भनेर कुराकानी अघि बढाएको जानकारी गराए ।

‘नयाँ सरकार बनिसकेपछि मित्र राष्ट्रसँग हामीले के अपेक्षा गर्ने, लगानीका कुरामा, सहकार्यका कुरामा, हाम्रो वर्षौदेखि रहेको सद्भावपूर्ण सम्बन्धका आधारमा राष्ट्रका रुपमा कुन लाभलाई लिन सक्छौं,’ भ्रमणबाट फर्किएपछि सञ्चारकर्मीसँगको कुराकानीमा भने, ‘कुन विषयलाई प्राथमिकीकरण गर्न सक्छौं भनेर कुराकानी अघि बढेको छ । एउटा राजनीतिक दल र अर्को राजनीतिक दलको निमन्त्रणमा भएका विषय भएकाले हामी एउटा चरणमा प्रवेश गरेका छौं ।’

उनले आफ्नो भ्रमणमा कुनै अस्पष्ट र लुकिछिपी नभएको पनि बताए ।

‘अस्पष्ट, लुकिछिपी, अपारदर्शी सम्बन्ध होइन, पारदर्शी, स्पष्ट र कहाँ जाने भन्ने कुराको गन्तव्य तय गरेर हिंड्न सुरु गरिएको विषय भएकाले, यो एक हिसाबले रिसेट जस्तो पनि हो,’ उनले भने, ‘रिसेट गर्ने काममा यो भ्रमणले मदत गर्छ भन्ने आशा गरेको छु ।’

उनले सीमा विवादबारे सोधिएको प्रश्नमा घुमाउरो जवाफ दिए । कूटनीतिक माध्यमबाट गरिने विषयहरू महत्वपूर्ण हुने भन्दै ठूलो हल्लामा भन्दा पनि चरणबद्ध तरिकाले अघि बढ्नुपर्ने उनले बताएका छन् ।

पाँच दिने भारत भ्रमण सकेर शुक्रबार नेपाल फर्किएका सभापति लामिछानेले कूटनीतिक विषयहरू ढोल बजाएजस्तो नहुने बताए ।

विमानस्थलमा लामिछानेलाई सीमा विवादबारे प्रश्न गरिएको थियो । उनले त्यसलाई कूटनीतिक माध्यमबाट सहज र समाधान गर्नेगरी अघि बढ्ने बताए ।

‘कुनै पनि विषय कूटनीतिको माध्यमबाट, डिप्लोमेटिक च्यानल एक्टिभ गराएर गरिने कुरा सबैभन्दा महत्वपूर्ण हुन्छ । तीनको आवाज हल्ला गरेजस्तो ढोल बजाएर हुँदैन,’ उनले भने, ‘ढोल नबजाइ आफ्नो देशका बारेमा गर्ने कुराहरू गर्नुपर्ने ठाउँमा चरणबद्ध तरिकाले गर्नुपर्ने हुन्छ ।’

कूटनीतिको विषयलाई जिम्मेवार र संवेदनशील ढंगबाट बुझ्न पनि उनले आग्रह गरे ।

‘कूटनीतिको विषय देशको सबैभन्दा धेरै जनाले पतयाएको राजनीतिक दलका रुपमा त्यसले उठाउने विषय त्यसका जिम्मेवारी र संवेदनशीलता बुझ्न सकिएन भने कूटनीतिमा त्यसको धेरै महत्व हुँदैन,’ उनले भने ।

सभापति लामिछानेले आफूहरू अस्थिरताको पक्षमा नभएको पनि बताए । प्रतिपक्षीहरूले गरेका विभिन्न टिप्पणीबारे उनलाई एक सञ्चारकर्मीले प्रश्न गरेका थिए । लामिछानेलाई विमानस्थलमा सञ्चारकर्मीले ‘अब तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भनेर प्रश्न गरेका थिए ।

उक्त विषयमा सञ्चारकर्मीले जवाफ खोजेका थिए । लामिछानेले यसबारे जवाफ दिँदै भने, ‘म केही भन्न चाहन्नँ । निर्वाचन अगाडि हामीले लेखेको कागज एकपटक पढ्न आग्रह गर्न चाहन्छु ।’

उनले आफ्नो पार्टीलाई जनताले स्थिरताका लागि मतदान गरेको भन्दै उक्त सहमतिमा अडिग रहेको बताए । ‘हामी अस्थिरताको पक्षमा छैनौं । हामी स्थिरताको पक्षमा छौं । नेपाली जनताले स्थिरताका लागि हामीलाई मतदान गरेका हुन् । हामीलाई गरेको वाचाप्रति अडिग छौं । रहिरन्छौं,’ उनले भने ।

लामिछानेले प्रधानमन्त्री बालेन शाहले संसद्मा दिएको अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालयले दिएको प्रष्टीकरण नै आधिकारिक धारणा भएको पनि बताए ।

सरकार प्रमुखले दिएको अभिव्यक्ति विवादित भएपछि सरकारकै निकायबारे आधिकारिक जवाफ आएको भन्दै उनले आफ्नो छुट्टै धारणा भने दिएनन् । यस्ता विषयहरू पार्टीको विशेष नहुने पनि उनको भनाइ थियो । 

‘परराष्ट्र मामिलासँग सम्बन्धित विषय, परराष्ट्र सम्बन्धका विषय, कुनै देशसँगको सम्बन्धको विषय, परराष्ट्र नीतिजस्ता विषय त्यो पार्टी विशेष हुँदैन । देशको हुन्छ,’ लामिछानेले भने, ‘सरकारका प्रमुख प्रधानमन्त्री भएको हुनाले सरकारले त्यसको बारेमा परराष्ट्र मन्त्रालयले स्पष्टसँग विज्ञप्तिमार्फ जानकारी गराइसकेको छ । त्यो नै सरकारको धारणा हो ।’

परराष्ट्रले उक्त धारणा दिइसकेपछि त्यसबारे धेरै भन्न नपर्ने उनको भनाइ थियो । भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा गएका थिए ।

भारत बसाइको क्रममा लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर, गृहमन्त्री अमित शाह, भाजपा अध्यक्ष नितिन नवीन लगायतसँग भेटवार्ता गरेका थिए ।

उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोरसँग पनि भारतमै भेटवार्ता गरेका थिए ।

रवि नेतृत्वको भ्रमण टोलीमा रास्वपा सहमहामन्त्री तथा प्रतिनिधि सभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य तथा प्रतिनिधि सभा सदस्य दीपक बोहोरा, पत्नी निकिता पौडेल र प्रदीप आचार्य थिए ।

प्रकाशित मिति: शुक्रबार, जेठ २२, २०८३  १९:४५
प्रतिक्रिया दिनुहोस्