सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको परिणामप्रति आशङ्का व्यक्त गरेका छन् ।
शनिबार काठमाडौँमा आयोजित अखिल नेपाल महिला सङ्गठनको एकता राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले निर्वाचन निष्पक्ष भएकोमा प्रश्न उठाएका हुन् ।
पूर्व प्रधानमन्त्री नेपालले निर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको दुई तिहाइ नजिकको सिटलाई एउटा अस्थायी ‘सुनामी’ को संज्ञा दिँदै यसका पछाडि रहेका भित्री कारणहरूको खोजी भइरहेको बताएका छन् । आफ्नो सम्बोधनका क्रममा उनले निर्वाचनका दौरान राज्यका प्रमुख अङ्गहरूको भूमिकालाई लिएर विभिन्न प्रश्नहरू उठिरहेको उल्लेख गरे ।
निर्वाचनमा नेपाली सेनाको भूमिका कस्तो रह्यो, सरकारले कस्तो कदम चाल्यो, निर्वाचन आयोगको कार्यशैली कस्तो थियो र मतपत्रको अवस्था कस्तो बनाइयो भन्ने विषयहरू शङ्काको घेरामा रहेको उनको भनाइ छ । पार्टीभित्रकै मान्छेहरूले कतिपय कुराको पोल खोल्ने चेतावनी दिइरहेको सन्दर्भ जोड्दै उनले भने, ‘यी सबै कुराहरू पनि एक न एक दिन खुल्दै जाने नै छ ।’ यी सबै विषयहरू भविष्यमा स्पष्ट हुने विश्वास व्यक्त गर्दै उनले निर्वाचन परिणाम प्राकृतिक नभएको सङ्केत गरे ।
सहसंयोजक नेपालले नेपालको राजनीतिक परिवर्तन र अधिकार प्राप्तिको आन्दोलनमा आफ्नो पार्टीले खेलेको ऐतिहासिक भूमिकाको चर्चा समेत गरे । वि.सं. २०४७ सालको संविधान निर्माणको समयदेखि नै महिला र दलितहरूको विशेष उपस्थितिलाई अनिवार्य गराउन आफूहरूले अथक पहल गरेको उनले स्मरण गराए ।
संविधान सभाबाट संविधान जारी गर्दा प्रत्येक पालिका र राज्यका निकायहरूमा नेतृत्वको तहमा महिलाको अर्थपूर्ण प्रतिनिधित्व सुनिश्चित गरिएको उनले बताए । राष्ट्रपति र उपराष्ट्रपति, तथा प्रतिनिधि सभा र राष्ट्रिय सभाका सभामुख र उपसभामुख जस्ता मुलुकका उच्च परिपक्व पदहरूमध्ये एउटामा महिलाको उपस्थिति अनिवार्य हुनुको श्रेय आफ्नो अभियानलाई जाने उनले दाबी गरे । अहिले निर्वाचित भएर आएका नयाँ दलका प्रतिनिधिहरूलाई लक्षित गर्दै उनले उनीहरूलाई मुलुकको यो परिवर्तन र अधिकार प्राप्तिको इतिहासबारे कुनै जानकारी नै नभएको र यसमा उनीहरूको कुनै भूमिका समेत नरहेको टिप्पणी गरे ।
निर्वाचनको पछिल्लो परिणामबाट आफ्ना नेता तथा कार्यकर्ताहरू कताकता डिफेन्सिभ अर्थात् रक्षात्मक भएको महसुस गरेको बताउँदै उनले कसैलाई पनि विचलित नहुन आग्रह गरे । विपक्षीहरू आक्रामक देखिँदैमा आफ्ना साथीहरू टाउको लुकाएर भाग्नुपर्ने वा कमजोर हुनुपर्ने स्थिति नरहेको उनले प्रस्ट पारे । यो केवल एउटा अस्थायी लहर मात्र भएकाले विगतको ऐतिहासिक योगदानको रक्षा गर्दै आगामी दिनमा दृढताका साथ अघि बढ्न उनले सम्पूर्ण पार्टी पङ्क्तिलाई आह्वान गरे ।