पोखराको फिर्केखोलामा चल्यो डोजर

आइतबार, जेठ १०, २०८३

पोखरास्थित फिर्केखोला अतिक्रमण गरी बनाइएका संरचनामा आज (आइतबार) बिहानदेखि डोजर चलाउन थालिएको छ।

पोखरा महानगरपालकािका मेयर धनराज आचार्यले खोला कसैको निजी सम्पत्ति नभएको स्मरण गराउँदै फिर्केखोलाभित्र पर्ने सुकुमवासी परिवारको आवश्यक व्यवस्थापन गरिने प्रतिबद्धता जनाएका छन्।

आचार्य मेयर चुनिएपछि अतिक्रमित संरचनाबारे अध्ययन गरिएको थियो। अनि फेवातालको सीमांकन र संरक्षणका लागि सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयनका क्रममा पोखराको बिच भागबाट बग्ने फिर्केखोलामा गरिएको अतिक्रमण हटाउने माग उठ्यो।

पोखरा महानगरपालिकाले २०८० साउनमा फिर्केको मापदण्ड कायम गराउन प्राविधिक नापजाँच गरेको थियो। त्यो नापजाँचका क्रममा ८ किलोमिटर लामो फिर्केखोलामा १६० भन्दा बढी अवैध संरचना निर्माण भएको तथ्य सार्वजनिक भयो।

त्यसमा केही विद्यालय,विभिन्न टोल र जातीय संगठनले बनाएका समाज घर र लायन्स क्लब अफ फिस्टेल सिटीको भवन पनि छन्।  त्यो प्रतिवेदनअनुसार खोलाघरभित्र ९७ वटा व्यक्तिगत अस्थायी र बाँकी स्थायी संरचना छन्। वडा नम्बर १७ गाईघाटस्थित सशस्त्र प्रहरी बल (एपीएफ) को तालिम केन्द्र भवन खोलाघरमै छ।

यी सबै संरचना भत्काउन पोखरा महानगरपालिकाले गत वैशाख ४ गते सार्वजनिक सूचना जारी गरेको थियो। त्यही सूचना कार्यान्वयका निम्ति आइतबार पोखरा महानगरपालिकाले फिर्केको ३ ठाउँबाट डोजर चलाउन थालेको हो।

प्रकाशित मिति: आइतबार, जेठ १०, २०८३  १०:४५
प्रतिक्रिया दिनुहोस्
समाचार
विचार