सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले उपयुक्त समयमा संसद्मा उपस्थित भएर सांसद्हरूको जवाफ दिने बताएका छन् ।
सभामुख डोल प्रसाद अर्यालले प्रतिनिधिसभा कार्य व्यवस्था परामर्श समितिको बैठकमा गराएको जानकारी अनुसार प्रधानमन्त्री बालेनले यस्तो बताएका हुन् ।
प्रतिनिधिसभामा विपक्षी दलहरूले प्रधानमन्त्री बालेनको उपस्थिति खोजिरहेका छन् । प्रधानमन्त्रीको उपस्थिति खोजेर विपक्षीले संसद् अवरोध नै गर्न थालेपछि बिहीबार सभामुख अर्याल प्रधानमन्त्री बालेन भेट्न पुगेका थिए ।
सिंहदरवारमा भएको भेटमा प्रधानमन्त्री बालेनले ‘उपयुक्त समयमा संसद् आउँला र सांसदहरूको जवाफ दिउँला’ भनेको सभामुख अर्यालले कार्यव्यवस्था परामर्श समितिमा रहेका सदस्यहरूलाई बताएका हुन् ।
प्रधानमन्त्री अनुपस्थित भएपछि प्रतिनिधिसभामा विपक्षी दलहरूले नारावाजी गर्न थालेका छन् । सभामुख अर्यालले विपक्षी दलका सांसदहरूको नाराबाजीबीच प्रतिनिधिसभाका कामकारबाही अगाडि बढाए । विपक्षीको नाराबाजीकै बीच ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक’ पारित भएको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यो विधेयकमाथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरे । यस विधेयकउपर प्राप्त संशोधनहरूलाई सभामुखले निर्णायार्थ प्रस्तुत गरे । त्यसपछि नाराबाजीकै बीच सभाले वैकल्पिक विकास वित्त परिचालन विधेयक पारित गरेको हो ।
विपक्षी नाराबाजीमै थिए । नाराबाजीकैबीच प्रतिनिधिसभाबाट ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, मतदाता नामावली (पहिलो संशोधन) विधेयक र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव पनि स्वीकृत भएको छ ।
प्रतिनिधिसभाको अर्को बैठक यही जेठ १२ गतेका लागि बोलाइएको छ ।