नगर प्रहरीले काफल पोखे, पीडित महिलालाई मेयरले दिइन् १० हजार

बुधबार, जेठ ६, २०८३

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा नगर प्रहरीले एक काफल बेच्ने महिलामाथि दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।

मंगलवार बेलुकाबाट सामाजिक सञ्जालमा भाइरल बनिरहेको उक्त भिडियो वीरेन्द्रनगरस्थित सिटी बसपार्क नजिककै खिचिएको हो । डोकोमा काफल बोकेर बेच्दै हिँडिरहेकी एक महिलाको डोको छिनेर नगर प्रहरीले सडकमै पोखिदिन्छन् । त्यसपछि ती प्रहरी भ्यानमा गएर बस्छन् । ती महिला भने सडकमै पोखिएको काफल डालोमा उठाउँछिन् ।

अहिले त्यो भिडियो लाखौंले हेरेर क्रियाप्रतिक्रिया दिइरहेका छन् । नगर प्रहरीको त्यो दुर्व्यवहारप्रति सर्वत्र आलोचना भइरहेको छ । दुर्व्यवहार भोग्ने ती महिला कालिकोट घर भई हाल वीरेन्द्रनगर नगरपालिका–३ बस्दैआएकी धमिला चौलागाईँ हुन् ।

यसैबीच वीरेन्द्रनगर नगरपालिकाले धमिलालाई बोलाएर १० हजार रुपैयाँ क्षतिपूर्ति दिएको छ । नगर प्रमुख मोहनमाया ढकालले बुधवार दिउँसो चौलागाईँलाई आफ्नै कार्यकक्षमा बोलाएर १० हजार रुपैयाँ क्षतिपूर्ति हस्तान्तरण गरेकी छन् ।

‘उहाँ (धमिला चौलागाईं) माथि नगर प्रहरीबाट दुर्व्यवहार भएका मैले पनि भिडियोबाटै थाहा पाएँ,’ मेयर ढकालले  भनिन्, ‘लगत्तै उहाँलाई बोलाएर राहत र प्रोत्साहन उपलब्ध गराएका छौँ ।’

दुर्व्यवहार गर्ने नगर प्रहरीलाई तत्काल विभागीय कारबाही गर्ने उनले बताइन् ।  नगरपालिकाले दुर्घटनाको जोखिम न्यूनीकरणका लागि फुटपाथ व्यवस्थापनको काम गर्दै आएको मेयर ढकालले बताइन् । ‘हामीले फुटपाथ व्यवसायीहरूका लागि पनि एउटा निश्चित र सुरक्षित ठाउँ छुटाइदिएका छौँ’,  उनले भनिन् ।

नगरप्रमुख ढकालले उनलाई सुरक्षित ठाउँमा बसेर व्यापार गर्न आग्रह गर्दै आगामी दिनमा केही समस्या परे नगरपालिकाले सहयोग गर्ने पनि बताइन् । क्षतिपूर्ति पाएपछि धमिला खुसी हुँदै फर्किएको मेयर ढकालले दाबी गरिन ।

प्रकाशित मिति: बुधबार, जेठ ६, २०८३  २०:१२
प्रतिक्रिया दिनुहोस्
समाचार
विचार