पोखरा बसपार्कको अतिक्रमण खाली गराउने तयारी

बुधबार, जेठ ६, २०८३

 पोखरा । पोखरा महानगरपालिकाले पाँच दशकदेखि अलपत्र प्रस्तावित पोखरा बसपार्कको जग्गा खाली गराउने तयारी गरेको छ । जग्गा खाली गराउन तीन दिनभित्र विवरण संकलन गर्नेगरी तयारी थालेको छ ।

महानगरले बुधबार एक जरुरी सूचना जारी गर्दै यसअघि निस्सा पाएका भूमिहिन दलित, सुकुमवासी र अव्यवस्थित बसोबासीहरूलाई जेठ ८ गतेसम्म वडा नम्बर ९ को कार्यालयमा विवरण बुझाउन निर्देशन दिएको छ ।

पोखरामा सुविधा सम्पन्न बसपार्क बनाउन २०३१–३२ सालमा पृथ्वीचोकको २०५ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । ५० वर्षसम्म बसपार्क नबन्दा सो क्षेत्रमा साढे चार सयभन्दा बढी घरटहरा बनेका छन् । २०५ रोपनी जग्गा खुम्चिएर अहिले २६ रोपनी हाराहारीमा  सीमित  छ ।

महानगरले गत वैशाख ४ गते अतिक्रमित संरचना हटाउन ३५ दिनु सूचना जारी गरेको थियो, जसको म्याद जेठ ८ गते सकिँदैछ ।

३५ दिने अल्टिमेटम सकिनै लाग्दा वास्तविक सुकुमवासी पहिचानका लागि महानगरले यो ३ दिने नयाँ सूचना निकालेको हो । स्थानीयले महानगरको निस्सा, नागरिकता वा जन्मदर्ता र नाता प्रमाणित पत्रसहित वडा कार्यालयमा विवरण बुझाउनु पर्नेछ ।

विवरण सङ्कलन लगत्तै सर्वपक्षीय सहमतिमा जग्गा खाली गराएर बसपार्क निर्माण अघि बढाउने महानगरको तयारी छ ।

प्रकाशित मिति: बुधबार, जेठ ६, २०८३  १७:५१
प्रतिक्रिया दिनुहोस्
समाचार
विचार