प्रधानमन्त्रीले संविधानको धज्जी उडाए : कांग्रेस सभापति थापा

शुक्रबार, वैशाख २५, २०८३

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानन्यायाधीश सिफारिस गर्दा प्रधानमन्त्रीले संविधानको धज्जी उडाएको टिप्पणी गरेका छन् ।

काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रममा कांग्रेस सभापति थापाले यस्तो टिप्पणी गरेका हुन् । संवैधानिक परिषद्‍मा प्रधानमन्त्रीको दादागिरी चल्नुहुँदैन भनेर संविधानमा नै त्यस्तो व्यवस्था गरिएको भन्दै थापाले प्रधानमन्त्रीले कम्प्लेटली त्यसको धज्जी उडाएको बताएका हुन् ।

उनले भने, ‘संवैधानिक परिषद्‍मा प्रधानमन्त्रीको दादा गरी चल्नु हुँदैन भनेर शब्दै लेखिएको छ । सरकारका प्रमुखले जबरजस्ती गर्ने भएकोले उसको नियन्त्रण गर्नका लागि संवैधानिक परिषद् बनाइएको छ भनेर लेखिएको छ । त्यसको कम्प्लेटली धज्जी उडाइएको छ ।’

बिहीबार बसेको संवैधानिक परिषद् बैठकले प्रधानन्यायाधीशमा न्यायाधीश डा. मनोज शर्माको नाम सिफारिस गर्ने निर्णय गरेको थियो  । नेपालको न्यायिक इतिहासमा वरिष्ठतम् न्यायाधीशको साटो रोलक्रमको चौथो क्रममा रहेका न्यायाधीश प्रधानन्यायाधीशमा सिफारिस भएको यो पहिलो घटना हो ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २५, २०८३  १७:०७
प्रतिक्रिया दिनुहोस्
समाचार
विचार