सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
बाँके l जाजरकोटको बारेकोट गाउँपालिकाका स्थानीय नागरिक तथा विभिन्न राजनीतिक दलहरूले भूकम्पपछिको पुनर्निर्माण कार्य तीव्र बनाउन माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा ज्ञापनपत्र बुझाएका छन्।
२०८० साल कार्तिक १७ गते बारेकोट गाउँपालिका–१ रामिडाँडा केन्द्रबिन्दु बनाएर गएको विनाशकारी भूकम्पपछि २ वर्ष ५ महिना बितिसक्दा पनि पुनर्निर्माण कार्य प्रभावकारी रूपमा अघि नबढेको भन्दै उनीहरूले गम्भीर ध्यानाकर्षण गराएका हुन्।
ज्ञापनपत्रमा उल्लेख गरिएअनुसार भूकम्पका कारण ढुंगा–माटोका अधिकांश घरहरू बस्न अयोग्य बनेका छन्। तर, अझैसम्म पुनर्निर्माण प्रक्रिया सुस्त हुँदा पीडितहरू जोखिमपूर्ण अवस्थामा बस्न बाध्य छन्।
त्यस्तै, “क्षति विवरण मूल्यांकन” (DDA) गर्दा छुटेका घरपरिवारहरूको पुनः मूल्यांकन गरी पुनर्निर्माण प्रक्रियामा समावेश गर्न माग गरिएको छ। हालको कार्यविधिका कारण संयुक्त लालपुर्जामा रहेका तर छुट्टै स्वामित्व नभएका धेरै परिवारहरू राहत र पुनर्निर्माणबाट वञ्चित भएको गुनासो पनि ज्ञापनपत्रमा समेटिएको छ।
ऊर्जा संकटतर्फ संकेत गर्दै बारेकोट–५ मा निर्माण गरिएको सौर्य ऊर्जा मिनीग्रिड भदौदेखि बिग्रिएको र झण्डै ६ सय घरपरिवार ८ महिनादेखि अन्धकारमा बस्न बाध्य भएको उल्लेख गरिएको छ। उक्त मिनीग्रिड मर्मतका लागि तत्काल स्रोत व्यवस्था गर्न सरकारसँग माग गरिएको छ।
ज्ञापनपत्रमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टीका स्थानीय नेताहरूको हस्ताक्षर रहेको छ।
ज्ञापनपत्रमा उठाइएका मागहरू तत्काल सम्बोधन गरी प्रभावित नागरिकहरूको जीवन सहज बनाउन सरकारसँग जोडदार माग गरिएको छ।