रास्वपा सांसद केपी खनालको घर ऐलानी जग्गामा, सचिवालय भन्छ- प्रतिशोध साँध्न बदनाम गरियो

आइतबार, वैशाख २०, २०८३

धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधि सभा सदस्य केपी खनालले ऐलानी जग्गामा घर निर्माण गरेको विषय सार्वजनिक भएको छ । कैलाली–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित खनालको लम्कीचुहा नगरपालिका–१ बसपार्क नजिकै घर छ ।

तर, उक्त घर ऐलानी जग्गामा बनाइएको भन्दै सामाजिक सञ्जालमा खनालविरुद्ध प्रश्न उठेको छ । सरकारले काठमाडौंसहित देशका विभिन्न स्थानमा सार्वजनिक तथा अतिक्रमित जग्गामा बनाइएका घर, टहरा लगायतका संरचना डोजर प्रयोग गरेर भत्काइरहेको छ ।

रास्वपाकै सांसद खनालले लालपूर्जा नभएको ऐलानी तथा सार्वजनिक जग्गामा घर बनाएको भन्दै डोजर प्रयोग गरेर भत्काउनुपर्ने आवाज उठिरहेको छ । तर, खनालको सचिवालयले भने देशभर अतिक्रमित संरचना हटाइरहेका बेला राजनीतिक प्रतिशोध राखेर उनको बदनाम गर्न खोजेको आरोप लगाएको छ ।

खनालको सचिवालयका सदस्य हर्क पुनले राजनीतिक प्रतिशोध राखेर सामाजिक सञ्जाल मार्फत बदनाम गर्न खोजिएको दाबी गरे । ‘राजनीतिक प्रतिशोध र बदनियत राखेर माननीय ज्यूको बदनाम गर्ने काम भइरहेको छ । देशभर सार्वजनिक जग्गा खाली गराउने अभियान चलेका यो पनि भत्काउनुपर्छ भन्ने होला,’ पुनले भने, ‘तर उहाँको आमा–बुवाले भारतमा रोजगारी गरेर बनाएको घरमा माननीय ज्यू बस्न नपाउने भन्ने हुन्छ र ?’

यद्यपि खनालको परिवार बस्ने घर ऐलानी जग्गामा निर्माण गरिएको कुरा भने साँचो भएको उनी बताउँछन् । भुईं तलासहित तीन तलाको उक्त घर निर्माणकै क्रममा छ ।

लम्कीचुहा नगरपालिका क्षेत्रमा धेरैजसो स्थानीय ऐलानी जग्गामै बसोबास गरिरहेको बताउँदै पुनले खनालको परिवारले समेत लालपुर्जाका लागि फारम भएको बताए । खनालले भूमि आयोगबाट जग्गाको नामपास गर्दै प्रक्रिया पूरा गरे पनि लालपूर्जा भने प्राप्त गरेका छैनन् । अनलाइनखबर

प्रकाशित मिति: आइतबार, वैशाख २०, २०८३  ०८:०४
प्रतिक्रिया दिनुहोस्
समाचार
विचार