सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
काठमाडौं । सरकारले सुमुमवासी व्यवस्थापनका गर्न भन्दै अहिले बस्तीहरुमा डोजर चलाइरहेको छ । सुकुमवासीको पहिचान नगरी जथाभावी बस्तीमा डोजर चलेपछि त्यसको आलोचना भइरहेको छ ।
सुकुमवासीको पहिचान नहुँदा नदी किनारका जोसुकैको घरहरु भत्काउन थालेपछि नागरिक आतंकित बनेका छन् ।
नदी किनारमा घर भएकाहरुले आफ्नो घरमा जग्गाधनी पुर्जा टाँसेर बसेका छन् । बस्ती उठाउने क्रमलाई निरन्तरता दिने क्रममा आज धोबीखोला क्षेत्रमा डोजर चलाइँदै छ । डोजर आउने सूचना आएपछि यहाँका बासिन्दाले आफ्ना घरका भित्तामा जग्गाधनी प्रमाणपत्र टाँसेका छन् ।
यसैबिच अखिल नेपाल सुकुमवासी संघले विना बिकल्प उठिबास लगाउने कार्य बन्द गर्नुपर्ने भन्दै आन्दोलनको घोषणा गरेको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले विभिन्न सुकुमवासी बस्तीहरूमा डोजर लगाएर राज्य आंतक फैलाइएको भन्दै विना विकल्प उठिबास लगाउने कार्य बन्द गर्नुपर्ने मागसहित आन्दोलनको घोषणा गरेको हो ।
पहिलो चरणमा भूमिहीन दलित, सुकुमवासी र अव्यवस्थित वसोवासीलाई गरेका वाचा स्मरण गर्न र जवरजस्ती उठिवास रोक्नका लागि सरोकारवाला सवैलाई आग्रह गरिने संघले जनाएको छ ।
त्यस्तै आन्दोलनको दोश्रो चरणमा मेची–महाकाली राजमार्ग चक्काजाम गर्ने, जनताको हितमा काम नगर्ने प्रधानमन्त्रीलाई फिर्ता बोलाउन देशव्यापी हस्ताक्षर संकलन अभियान सुरु गर्ने संघले जानकारी दिएको छ ।
संघका अध्यक्ष अमर परियारले जवरजस्ती नागरिकलाई उठिवास लगाउने कार्य भएकाले आन्दोलनको घोषणा गर्नुपरेको बताए ।
शान्तिपूर्ण आन्दोलनबाट आफुहरुको माग सुनुवाई नभए मेची–महाकाली राजमार्ग र सुकुमवासी केन्द्रित क्षेत्र केन्द्रित संघर्षसहित देशव्यापी अनिश्चितकालीन आम हड्ताल गर्ने चेतावनी संघले जनाएको छ ।