भेरी अस्पतालमा इमरजेन्सी बाहेकका सेवा ठप्प

बुधबार, वैशाख १६, २०८३

नेपालगन्ज । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालका चिकित्सकहरुले सुरक्षा माग गर्दै आकस्मिक बाहेकका सेवा ठप्प पारेका छन् । ओपीडी लगायतका उपचार सेवा बन्द हुँदा बिरामीहरू मर्कामा परेका छन् ।

उपचारका क्रममा बाँकेको बैजनाथ गाउँपालिका वडा नं ६ निवासी ६२ वर्षीया दिलसरा विकको १३ वैशाखमा मृत्युपछि मृतकका आफन्तले चिकित्सक र अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदीलाई ज्यान मार्ने धम्की दिँदै दुर्व्यवहार गरेको भन्दै चिकित्सकहरुले अत्यावश्यक बाहेकका सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका हुन् ।

नेपाल चिकित्सक संघ भेरी शाखाका अध्यक्ष डा. रुपानन्द अधिकारीले मंगलबार साँझ विज्ञप्ति जारी गर्दै २४ घण्टाभित्र घटनामा संलग्न व्यक्तिहरुलाई नियन्त्रणमा लिई कानुनी कारबारीको प्रक्रिया सुरु गर्न र चिकित्सकहरुको सुरक्षाको व्यवस्था मिलाउन माग गरेका छन् । दोषी माथि कारबाही र सुरक्षाको प्रत्याभूति नगरिए संघमा आवद्ध सम्पूर्ण सरकारी, निजी अस्पताल, क्लिनिकको इमरजेन्सीबाहेकका सेवाहरु बन्द गर्ने चेतावनी पनि दिएका छन् ।

प्रकाशित मिति: बुधबार, वैशाख १६, २०८३  १३:२४
प्रतिक्रिया दिनुहोस्