विद्यार्थी संगठनमाथि प्रतिबन्ध गर्ने सरकारी घोषणाको विरोधमा काठमाडौँमा कालो बेलुन उडाएर प्रदर्शन

बुधबार, वैशाख ९, २०८३

विद्यार्थी संगठनमाथि प्रतिबन्ध गर्ने सरकारी घोषणाको विरोधमा काठमाडौँमा कालो बेलुन उडाएर प्रदर्शन गरिएको छ।

नेपाल विद्यार्थी संघ (नेविसंघ) र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले संयुक्त रूपमा राजधानीमा विरोध प्रदर्शन गरेका हुन्। विद्यार्थी नेताहरूले विद्यार्थी संगठनमाथिको प्रतिबन्धलाई अलोकतान्त्रिक र दमनकारी कदम भनेका छन्। 

नेविसंघका केन्द्रीय सदस्य मात्रिका तिमिल्सिनाले शान्तिपूर्ण आन्दोलनमा सहभागी विद्यार्थीलाई हिरासतमा लिएको घटनाप्रति पनि आपत्ति जनाए।

‘सरकारले विद्यार्थी संगठनमाथि प्रतिबन्धको घोषणा जुन पञ्चायतमा समेत भएन, त्यसका विरुद्ध र नेपाल विद्यार्थी संघका केही साथिहरूले हिजो शान्तिपूर्ण आन्दोलन गर्दा हिरासतमा राखेको छ। त्यसका विरुद्ध नेपाल विद्यार्थी संघ र अनेरास्ववियुले संयुक्त आन्दोलन सुरु गरेका छौँ,’ तिमिल्सिनाले भने। 

सरकारले संगठनमाथि प्रतिबन्ध गर्ने घोषणा फिर्ता नलिए देशभर सशक्त आन्दोलन गर्ने उनले चेतावनी दिए। मंगलबार सिंहदरबारमा प्रदर्शन गरेका विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको थियो। 

सरकारले माफियालाई संरक्षण गरेको उनको आरोप थियो। ‘यो सरकार आफैंमा नालायक छ, लाचार छ। सरकारले मनोमानि गरिरहेको छ। गृहमन्त्रीले रजगजमा शासन गर्छ। माफियाहरुलाई संरक्षण गरिरहेको छ,’ उनले भने। 

प्रकाशित मिति: बुधबार, वैशाख ९, २०८३  १४:२७
प्रतिक्रिया दिनुहोस्
समाचार
विचार