संसदीय समितिमा पत्रकार निषेध, सभापति चयनमा सर्वसम्मति र मतदान दुवै

शुक्रबार, वैशाख ४, २०८३

काठमाडौं । संसदीय समितिमा पत्रकारलाई प्रवेश निषेध गरिएको छ । शुक्रबार संसदीय समितिका सभापतिहरूको निर्वाचन थियो ।

अधिकांश संसदीय समितिका सभापति सर्वसम्मत निर्वाचित भए । दुई वटा संसदीय समितिको सभापतिमा भने एक भनदा बढी उम्मेदवारी परेकोले निर्वाचन प्रक्रियाद्धारा सभापति चयन गरिएको छ । यसक्रममा पत्रकारहरूलाई प्रवेश निषेध गरिएको हो । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकको सुरुमा पत्रकारहरूलाई फोटो लिन दिइएको थियो ।

त्यसपछि पत्रकारलाई समिति सभाकक्षमा बस्न दिइएन । पत्रकारहरूलाई निकालेर राज्य व्यवस्था तथा सुशासन समितिको बैठकका बाँकी कार्य अगाडि बढे । राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल सर्वसम्मत निर्वाचन भए । बिहीबार भएको मनोनयन दर्तामा उनको मात्रै उम्मेदवारी परेको थियो ।

यसबाहेक कानुन न्याय तथा मानवअधिकार समिति सभापतिमा रास्वपाकी सांसद समीक्षा बास्कोटा सर्वसम्मत निर्वाचित भएकी छन् । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापतिमा  रास्वपाका अशोककुमार चौधरी, पूर्वाधार विकास समिति सभापतिमा रास्वपाका आशिष गजुरेल, महिला तथा सामाजिक मामिला समिति सभापतिमा रास्वपाकी आकृति अवस्थी सर्वसम्मत निर्वाचित भए ।

संसदीय सुनुवाइ समिति सभापतिमा रास्वपाका बोधनारायण श्रेष्ठ,  उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा रास्वपाकै  रहबर अन्सारी, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापतिमा रास्वपाका सुम्नीमा उदास र अर्थ समिति सभापतिमा कृष्णहरि बुढाथोकी पनि सर्वसम्मत निर्वाचित भए ।

यसबाहेक सार्वजनिक लेखा समिति सभापतिमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका भरत खड्का पनि सर्वसम्मत निर्वाचित भए । रास्वपाको समर्थन पाएका खड्काले पाएपछि यो समिति सभापतिमा एकल उम्मेदवारी परेको थियो ।

बाँकी दुई वटा समिति सभापतिका लागि भने एकमम भन्दा बढी उम्मेदवारी परेको थियो । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन सभापतिमा दुई जनाको उम्मेदवारी परेको थियो । रास्वपाका तर्फबाट गणेश कार्की र नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट मदनकुमारी शाह (गरिमा) को उम्मेदवारी दिएका हुन् । रास्वपाको स्पष्ट बहुमत भएकाले कार्की निर्वाचित भए ।

प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापतिमा पनि दुई जनाको उम्मेदवारी परेको थियो ।   यो समिति सभापतिमा रास्वपाकी ओजश्वी शेरचन र नेकपा एमालेका गुरुप्रसाद बरालको उम्मेदवारी परेको थियो । यसमा पनि रास्वपाको स्पष्ट बहुमत भएकाले रास्वपाकी शेरचन निर्वाचित भइन् ।

यसअघि आजै संसदीय मामिला पत्रकार समाज र संसदीय रिपोर्टिङमा रहेका पत्रकारहरूसँगको भेटमा  सभामुख डोलप्रसाद अर्यालले संसद् र संसदीय समितिमा रिपोर्टिङ गर्न पत्रकारलाई सहज बनाउने प्रतिबद्धता जनाएका थिए ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ४, २०८३  १६:०४
प्रतिक्रिया दिनुहोस्
समाचार
विचार