कोहलपुर–२ मा तीव्र विकास: रंगशाला, रिङरोड र सुशील कोइराला स्मृति पार्क निर्माण तीव्र गतिमा

शुक्रबार, चैत २७, २०८२

बाँके । कोहलपुर नगरपालिका वडा नम्बर–२ मा पछिल्लो समय विकास निर्माणका कामहरू तीव्र गतिमा अघि बढिरहेका छन्। वडा अध्यक्ष हरि सिंह कठायतका अनुसार कार्यकालको उत्तरार्धमा आइपुग्दा वडाका १० वटै टोलमा बिना कुनै विभेद सन्तुलित विकास गर्ने लक्ष्यका साथ विभिन्न आयोजना सञ्चालनमा रहेका छन्।

लालआवाजसँगको संक्षिप्त कुराकानीमा अध्यक्ष कठायतले आफूले चुनावका बेला ठूला आश्वासन नगरे पनि व्यवहारिक रूपमा विकासका कामहरू अघि बढाएको बताएका छन्। उनले भने, “हामीले वडाको समग्र विकासका लागि सकेसम्म इमान्दारीपूर्वक प्रयास गरेका छौँ।”

वडामा हाल गौरवका आयोजनाहरू अन्तर्गत कोहलपुर रंगशाला, सुशील कोइराला स्मृति पार्क तथा कोहलपुर नगरपालिकाका १५ वटै वडालाई जोड्ने रिङरोड निर्माण कार्य धमाधम भइरहेको छ। विशेषगरी मुक्तिनगर स्थित सिमसार क्षेत्रमा संघीय वन मन्त्रालयको ४० लाख बजेटमा सुशील कोइराला स्मृति पार्क निर्माण भइरहेको छ।

त्यस्तै, सडक पूर्वाधारतर्फ पनि उल्लेखनीय प्रगति देखिएको छ। सडक डिभिजन नेपालगञ्जमार्फत रत्न राजमार्ग अन्तर्गत मनकामना चोक क्षेत्रमा करिब ५०० मिटर सडक चौडा गर्ने तथा दोहोरो नाली निर्माण कार्य जारी छ। बनखेत–दिपनगर सडक ७० लाख बजेटमा कालोपत्रे हुँदैछ भने लक्ष्मी मावीदेखि तिलकपुर जोड्ने सडक ४० लाख लागतमा आरसीसी नालीसहित स्तरोन्नति भइरहेको छ।

यसैगरी कृष्णनगर शहीद चोक, प्रेमनगर ‘क’ लाइन, भरोसा स्कुल–सालकोबुटा, शिवशक्ति स्कुल–संगम चोक लगायतका विभिन्न स्थानमा नाली तथा सडक निर्माण कार्य सम्पन्न वा निर्माणाधीन अवस्थामा छन्। शिक्षा पूर्वाधार अन्तर्गत मुक्ति आधारभूत विद्यालयको ४८ लाख लागतमा भवन निर्माण भइरहेको छ।

वडाकै तेह्र बिघा क्षेत्रमा करिब ७ करोड १० लाख रुपैयाँ लागतमा निर्माणाधीन कोहलपुर रंगशाला यस क्षेत्रकै महत्वपूर्ण परियोजनाका रूपमा अघि बढिरहेको छ।

अध्यक्ष कठायतले आगामी दिनमा पनि वडाको समग्र विकासलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै स्थानीयवासीको साथ र सहयोगले नै सम्भव भएको बताएका छन्।Screenshot-2026-04-10-195026-1775829937.png

प्रकाशित मिति: शुक्रबार, चैत २७, २०८२  १९:५०
प्रतिक्रिया दिनुहोस्