इजरायलले लेबनानमा ठूलो हवाई आक्रमण गर्दा २५० भन्दा बढीको मृत्यु

बिहीबार, चैत २६, २०८२

काठमाडौं । इजरायलले लेबनानमा हालसम्मको सबैभन्दा ठूलो हवाई आक्रमण गर्दा २५० भन्दा बढी मानिसको मृत्यु भएको छ । हिज्बुल्लाहसँगको द्वन्द्व सुरु भएयता इजरायलको यो सबैभन्दा घातक हमला हो ।

बुधबार भएको आक्रमणमा २५४ जनाको मृत्यु र १ हजार १०० भन्दा बढी घाइते भएको लेबनानको नागरिक सुरक्षा निकायलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । स्वास्थ्य मन्त्रालयले भने देशभर १८२ जनाको मृत्यु पुष्टि गरेको छ, यद्यपि यो अन्तिम विवरण नभएको उसले जनाएको छ ।

राजधानी बेरुतमा मात्रै ९१ जनाको ज्यान गएको छ । संयुक्त राष्ट्रसंघका मानव अधिकार प्रमुख भोल्कर टर्कले ‘यस्तो नरसंहार अविश्वसनीय र भयावह’ भएको टिप्पणी गरेका छन् । बुधबार दिउँसो लगातार पाँच पटकसम्म ठूला विस्फोट हुँदा आकाशमा धुवाँका मुस्लाहरू देखिएका थिए ।

इजरायली सेनाका अनुसार १० मिनेटभित्र बेरुत, बेका उपत्यका र दक्षिणी लेबनानका १०० भन्दा बढी सैन्य संरचना र कमाण्ड केन्द्रमा समन्वित आक्रमण गरिएको थियो ।

यसैबीच, हिज्बुल्लाहले युद्धविराम उल्लंघनको आरोप लगाउँदै उत्तरी इजरायलको मनारा क्षेत्रमा रकेट आक्रमण गरेको जनाएको छ । ‘हाम्रो देश र जनतामाथिको इजरायली–अमेरिकी आक्रमण बन्द नभएसम्म जवाफ जारी रहनेछ,’ हिज्बुल्ला समूहले विज्ञप्तिमा उल्लेख गरेको छ ।

हिज्बुल्लाहले इजरायलतर्फ गत मार्च २ आक्रमण गरेपछि इजरायल आक्रामक देखिएको छ । त्यसपछि इजरायलले हवाई तथा स्थल आक्रमण तीव्र बनाएको छ ।

क्षेत्रीय युद्धविराम प्रयास संकटमा

यस घटनाले क्षेत्रीय युद्धविराम प्रयासमाथि गम्भीर प्रश्न उठाएको रोयटर्सको समाचारमा उल्लेख छ । अमेरिका र इरानबीच बुधबारदेखि सुरु भएको दुई साताको युद्धविरामलाई इजरायलले पनि समर्थन गरेको छ । तर इजरायलले लेबनानमा भने आक्रमण नरोक्ने स्पष्ट पारेको छ ।

इरानी राष्ट्रपति मसूद पेज़ेशकियनले भने लेबनानमा युद्धविराम कायम हुनु आफ्नो देश र अमेरिकाबीचको सहमतिको मुख्य शर्त भएको बताएका छन् ।

इजरायलले लेबनानमा गरेको पछिल्लो आक्रमणबाट उद्धार कार्य निकै कठिन भएको स्थानीय सञ्चारकर्मीले बताएका छन् । एम्बुलेन्स अभावका कारण घाइतेलाई मोटरसाइकलमार्फत अस्पताल पुर्‍याइएको देखिएको छ ।

बेरुतका ठूला अस्पतालहरुले सबै समूहको रगत आवश्यक भएको भन्दै सहयोगको अपिल गरेका छन् । आक्रमणका कारण राजधानीका ठूला भवनहरु ध्वस्त भएका छन् । उद्धारकर्मीहरूले एक वृद्ध महिलालाई क्रेनको सहायताले भवनबाट बाहिर निकालेको दृश्य देखिएको छ ।

प्रकाशित मिति: बिहीबार, चैत २६, २०८२  ०८:२२
प्रतिक्रिया दिनुहोस्