सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका पुराना सबै क्रियाशील सदस्यता खारेज भएको घोषणा गरेका छन्। बुधबार जनकपुरधाममा आयोजित मधेस प्रदेशस्तरीय निर्वाचन समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै थापाले अब नयाँ प्रणाली र नयाँ जोसका साथ सदस्यता वितरण गरिने बताएका हुन्।
आगामी वैशाख १ गतेदेखि कांग्रेसले देशभर ‘जरा अभियान’ सुरु गर्ने जानकारी दिँदै थापाले पार्टीको संगठनलाई वडा तहदेखि नै पुनर्गठित गरिने उल्लेख गरे। सभापति थापाले भने, 'पुराना पद्धति र प्रणालीबाट बनेका सबै क्रियाशील सदस्यता निर्वाचनपछि स्वतः खारेज भइसकेका छन्। अब वैशाख १ गतेदेखि म आफैँले आफ्नै वडाबाट नयाँ सदस्यता लिएर यो अभियानको सुरुवात गर्नेछु।'
उनले पार्टीभित्रको अन्तरघात र गुटबन्दी अन्त्य गर्न संख्याभन्दा पनि गुणस्तरमा केन्द्रित हुनुपर्नेमा जोड दिए। अब पार्टीलाई १० लाख ‘कागजी’ सदस्य नभई काम गर्ने सक्रिय सदस्य चाहिएको उनको तर्क थियो। 'हामीलाई १० लाखको सट्टा एक लाख सदस्य भए पुग्छ, तर ती सदस्य अनुशासित र काम गर्ने हुनुपर्छ ताकि भविष्यमा फेरि अन्तरघातको मुख हेर्नु नपरोस्,' थापाले थपे।
कांग्रेसका भ्रातृ संगठनहरू वर्षौँदेखि तदर्थवादमा चलेको र पुराना नेताहरूले कब्जा जमाएका कारण निष्क्रिय बनेको भन्दै उनले अब नयाँ पुस्तालाई अवसर दिने गरी विधान परिमार्जन गरिने दाबी समेत गरे। स्थानीय र प्रदेश सरकारमा सहभागी मन्त्री तथा जनप्रतिनिधिहरूको कार्यसम्पादनबारे उठेका प्रश्नलाई सम्बोधन गर्न उपसभापति विश्वप्रकाश शर्मा नेतृत्वको टोलीले छिट्टै समीक्षा गर्ने उनले जानकारी दिए।
कार्यक्रममा मधेस प्रदेशका सभापति एवं मुख्यमन्त्री कृष्णप्रसाद यादवले निर्वाचनको परिणाम अप्रत्याशित रहेको भन्दै कमजोरीहरूको निर्मम समीक्षा गरेर अघि बढ्नुपर्ने बताएका थिए। गोष्ठीमा मधेसका आठै जिल्लाका सभापतिहरूले पार्टीको साङ्गठनिक अवस्थाबारे रिपोर्टिङ गरेका थिए।