सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग दुई हप्ताका लागि युद्धविराम गरिएको घोषणा गरेका छन्। उनले सामाजिक सञ्जाल प्लाटफर्म ट्रुथ सोसलमा लेखेका छन्, ‘इरानले तुरुन्तै होर्मुज स्ट्रेट खोल्ने सर्तमा दुई हप्ताका लागि म बम विस्फोट र आक्रमण स्थगन गर्न सहमत भएको छु।’
ट्रम्पका अनुसार पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफ र सेना प्रमुख असिम मुनिरको अनुरोधमा युद्धविराम गर्ने निर्णय गरिएको हो। उनले भनेका छन्, ‘हामीले इरानबाट १० बुँदे प्रस्ताव प्राप्त गरेका छौँ। दुई देशबिचका सबै विवादास्पद मुद्दामा सहमति भएको छ। सम्झौतालाई अन्तिम रूप दिन र कार्यान्वयन गर्न अर्को दुई हप्ता आवश्यक हुनेछ।’
इरानले पनि युद्धविरामको पुष्टि गरेको छ। इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले पाकिस्तानको राजधानी इस्लामाबादमा थप वार्ता हुने बताएको छ। इरानले होर्मुज स्ट्रेट दुई हप्ता खुला गरिने जानकारी गराउँदै यस अवधिमा आफ्ना नागरिकलाई राष्ट्रिय एकता कायम राख्न र पूर्ण शक्तिका साथ विजय मनाउन आग्रह गरेको छ।
मेहर समाचार एजेन्सीका अनुसार यो सम्झौता पाकिस्तानको मध्यस्थतामा भएको हो। युद्धविराम सम्झौता देशका सर्वोच्च नेता आयतोल्लाह मोज्तबा खामेनीले अनुमोदन गरेका छन्।
इरानले यो सम्झौतालाई आफ्नो विजयका रूपमा वर्णन गरेको छ।
इरानको विज्ञप्तिमा भनिएको छ, ‘स्थायी शान्ति सम्झौताका लागि थप वार्ता अब पाकिस्तानको राजधानी इस्लामाबादमा हुनेछ।’ यसैबिच इजरायल पनि दुई हप्ता युद्धविराम गर्न सहमत भएको छ। ह्वाइट हाउसका एक अधिकारीले यस अवधिमा इजरायलले पनि इरानमा आक्रमण नगर्ने बताएका छन्।
अमेरिका र इजरायले गत फेब्रुअरी २८ मा संयुक्त हवाई हमला गरी इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलगायत शीर्ष नेता तथा अधिकारीको हत्या गरेयता युद्ध जारी थियो।
त्यसयता इरानका सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी, इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का प्रवक्ता तथा जनसम्पर्क अधिकारी अली मोहम्मद नैनी, नौसेना कमान्डर अलिरेजा ताङसिरी, नौसेना गुप्तचर निर्देशनालयका प्रमुख बहनाम रेजाई र अहिले गुप्तचर संगठनका प्रमुख माजिद खादेमी पनि मारिइसकेका छन्।
बदलामा इरानले इजरायलका साथै अमेरिकी आधार/अड्डा रहेका खाडीका देशहरूमा पनि आक्रमण गर्दा द्वन्द्व मध्यपूर्वभरि फैलिएको थियो। युद्धमा अहिलेसम्म विभिन्न देशमा गरी मारिएकाको संख्या ५ हजार नाघिसकेको छ।
पछिल्लो तथ्यांक यस्तो छ:
इरान : ३,५१९ जना मारिए
अमेरिकास्थित मानव अधिकार संगठन एचआरएएनएका अनुसार इरानमा मारिएकाहरूमा कम्तीमा २४४ बालबालिकासहित १ हजार ५९८ आम नागरिक छन्।
लेबनन : १,३१८ जना मारिए
लेबननी अधिकारीहरूका अनुसार मारिएकाहरूमा १२४ बालबालिका छन्। इजरायलले मार्च २ मा लेबननमा आक्रमण सुरु गरेको थियो। जसमा अहिलेसम्म ४०० भन्दा बढी हेजबुल्लाह लडाकु मारिएका छन्।
छुट्टाछुट्टै हमलामा कम्तीमा ९ जना लेबननी सैनिक मारिएका छन् र संयुक्त राष्ट्रसंघ शान्ति सेनाका तीन जनाको पनि मृत्यु भएको छ। तीनै जना सैनिक इन्डोनेसियाली थिए।
इराक : कम्तीमा १०७ जना मारिए
इराकी स्वास्थ्य अधिकारीहरूका अनुसार मारिएकाहरूमा सर्वसाधारण, इरान-समर्थित सिया पपुलर मोबिलाइजेसन फोर्सका सदस्य, अमेरिका-समर्थित कुर्दिस पेसमेर्गा लडाकु, प्रहरी र सेनाका कर्मचारी छन्।
इराकी बन्दरगाहनजिकै ट्यांकरमा भएको आक्रमणमा चालक दलका एक विदेशी सदस्यको पनि मृत्यु भएको छ। आतंकवादविरोधी तालिम प्रदान गर्ने एक फ्रान्सेली सैनिक पनि ड्रोन आक्रमणमा मारिएका छन्।
इजरायल : १९ जना मारिए
इजरायलको एम्बुलेन्स सेवाका अनुसार इरान र लेबननबाट प्रहार गरिएका क्षेप्यास्त्रबाट १९ जनाको मृत्यु भएको छ। इजरायली सेनाले दक्षिणी लेबननमा आफ्ना १० जना सैनिकको पनि मृत्यु भएको बताएको छ। साथै मार्च २२ मा इजरायली सैनिकले गल्तीले गोली चलाउँदा सीमानजिकै एक इजरायली किसानको मृत्यु भएको थियो।
अमेरिका : १३ जना मारिए
अमेरिकी सेनाका अनुसार इराकमा सैन्य इन्धन भर्ने विमान दुर्घटना हुँदा ६ जना सैनिकको मृत्यु भएको पुष्टि भएको छ। इरानमा अपरेसनका क्रममा अन्य ७ सैनिकको मृत्यु भएको छ।
खाडी क्षेत्र
संयुक्त अरब इमिरेट्स (यूएई) मा ११, कतारमा ७, कुवेतमा ७, वेस्ट बैंकमा ४, सिरियामा ४, बहराइनमा २, ओमानमा २ र साउदी अरेबियामा २ जना मारिएका छन्।
हालै अमेरिकाले जारी गरेको तथ्यांकअनुसार अमेरिकी सेनाका १३ जना मारिएका छन् भने ३६५ सैन्य कर्मचारी घाइते भएका छन्।