कांग्रेसमा देउवा कोइराला पक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बोलाए ‘केन्द्रीय कार्यसमिति’ बैठक

सोमबार, चैत १६, २०८२

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन् ।

पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि कार्यवाहक सभापतिको हैसियतमा वक्तव्य जारी गरेका खड्काले मंगलबार तत्कालीन केन्द्रीय कार्यसमिति बैठक बोलाएका हुन् ।

सभापति शेरबहादुर देउवानिकट एक नेताले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको जानकारी दिएका छन् ।

निवर्तमान कार्यवाहक सभापति खड्का निकट स्रोतले पनि केन्द्रीय कार्यसमिति बैठक बोलाइएको पुष्टि गरेको छ । स्रोतका अनुसार धुम्बाराहीको एक होटलमा मंगलबार र बुधबार दुई दिनसम्म बैठक बस्ने छ ।

१४ औं महाधिवेशनबाट निर्वाचित एक केन्द्रीय सदस्यले पनि तत्कालीन केन्द्रीय कार्यसमिति बैठकका लागि आफूलाई खबर आएको बताएका छन् । निवर्तमान कार्यवाहक सभापति खड्काले तत्कालीन केन्द्रीय कार्यसमिति बैठक लगत्तै प्रदेश सभापति र जिल्ला सभापतिहरूको पनि भेला बोलाउने तयारी गरेका छन् ।

उनीनिकट स्रोतले प्रदेश सभापति र जिल्ला सभापतिहरूको भेला बोलाउने तयारी भइरहेको जानकारी दिएका छन् ।यसअघि खड्काले १४ चैतमा विशेष महाधिवेशनलाई स्वीकार नगरेका पार्टीका शीर्ष नेताहरूलाई बोलाएर ठमेलमा छलफल गरेका थिए ।

छलफलपछि उनले पहिलोपटक कार्यवाहक सभापतिको हैसियतमा वक्तव्य जारी गरेर पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ प्रकरणको संवैधानिक, कानुनी र राजनीतिकरूपमा प्रतिवाद गर्ने बताएका थिए ।

खड्काले आगामी दिनमा आईपर्ने जुनसुकै परिस्थितिको राजनीतिकरुपमा सामना गर्न पार्टीका नेता–कार्यकर्ताहरूलाई तयार रहनसमेत अपिल गरेका थिए । कार्यवाहक सभापतिको हैसियतमा वक्तव्य जारी गरेपछि कांग्रेसले खड्काको क्रियाशील सदस्यता नवीकरण नगर्नेबारे छलफल गरेको थियो ।

प्रकाशित मिति: सोमबार, चैत १६, २०८२  ०९:५९
प्रतिक्रिया दिनुहोस्