झापाका व्यावसायिक फार्ममा ‘बर्ड फ्लु’ पुष्टि: कुखुरा र अण्डा ओसारपसारमा रोक

मंगलबार, चैत १०, २०८२

झापाका दुई स्थानीय तहमा व्यावसायिक रूपमा पालिएका कुखुरामा ‘बर्ड फ्लु’ (एच५एन१) देखा परेपछि जिल्ला प्रशासन कार्यालयले उच्च सतर्कता अपनाउन सार्वजनिक सूचना जारी गरेको छ। दमक नगरपालिका र झापा गाउँपालिकाका फार्ममा संक्रमण पुष्टि भएपछि प्रशासनले ती क्षेत्रलाई केन्द्रबिन्दु मानी चारै दिशामा संकटग्रस्त क्षेत्र घोषणा गरेर नियन्त्रणका काम अघि बढाएको हो।

निमित्त प्रमुख जिल्ला अधिकारी तेजप्रसाद प्रसाईंद्वारा जारी सूचनामा संक्रमण थप फैलिन नदिन प्रभावित स्थानीय तहहरूबाट पक्षी, अण्डा, दाना र अन्य पक्षीजन्य सामग्री अन्यत्र लैजान पूर्ण रूपमा रोक लगाइएको उल्लेख छ। भेटेरिनरी अस्पताल झापाकी प्रमुख शीतल भट्टराईका अनुसार दमक नगरपालिका–१० स्थित एग्रिकल्चर फार्ममा पालिएका लेयर्स कुखुरामा ‘हाइप्याथोजेनिक’ बर्ड फ्लु पुष्टि भएको हो। संक्रमण देखिएलगत्तै उक्त फार्मका सबै कुखुराहरू सोमबार नै नष्ट गरिसकिएको उनले बताइन्।

दमक र झापा गाउँपालिका मात्र नभई मेचीनगर र अर्जुनधारा नगरपालिका क्षेत्रबाट पनि कुखुरा मरिरहेको सूचना प्राप्त भएका प्रशासनको ठहर छ। किसानले ल्याएका नमुनाको प्रारम्भिक ‘र्‍यापिड टेस्ट’ गर्दा रिपोर्ट पोजेटिभ देखिएको र थप प्राविधिक पुष्टिका लागि केन्द्रीय प्रयोगशालामा पठाएर पीसीआर परीक्षण प्रक्रिया अघि बढाइएको अस्पताल  प्रमुख भट्टराईले जानकारी दिइन्। छिमेकी जिल्ला मोरङ र सुनसरीमा समेत यो रोग फैलिएकाले झापा बर्ड फ्लुको उच्च जोखिममा रहेको उनले बताइन्।

नेपालमा पहिलो पटक सन् २००९ को जनवरीमा ‘बर्ड फ्लु’ देखिएको थियो। त्यसयता नेपालका विभिन्न जिल्लाहरूमा पटक–पटक यो संक्रमण बल्झिँदै आएको छ। २०७६ वैशाखमा नेपालमा बर्ड फ्लुका कारण एक व्यक्तिको मृत्यु भएको पुष्टि भएको थियो। 

बर्ड फ्लु मुख्यतया पंक्षीहरूमा लाग्ने रोग भए तापनि यो मानिसमा सर्ने जोखिम सधैँ रहन्छ। विश्व स्वास्थ्य संगठन र स्वास्थ्य विज्ञहरूका अनुसार संक्रमित पक्षीको र्‍याल, सुली वा मासुको सोझो सम्पर्कमा आउने मानिसमा यो संक्रमण सर्न सक्छ। विशेषगरी फार्ममा काम गर्ने मजदुर र मासु काट्ने व्यक्तिहरू यसको उच्च जोखिममा हुन्छन्। मानिसमा संक्रमण भएमा उच्च ज्वरो आउने, खोकी लाग्ने, घाँटी दुख्ने र श्वासप्रश्वासमा गम्भीर समस्या अर्थात् निमोनिया जस्ता लक्षणहरू देखिन सक्छन्।Screenshot-2026-03-24-165148-1774350424.png

प्रकाशित मिति: मंगलबार, चैत १०, २०८२  १६:५३
प्रतिक्रिया दिनुहोस्