सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
बुटवल । नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले रास्वपा नेतृत्वमा सरकार बनेपछि देशमा शान्ति, सुव्यवस्था र सुशासन नभई अराजकता र दण्डहीनताको स्थिति उत्पन्न हुने बढी सम्भावना रहेको निचोड निकालेको छ ।
पार्टीको बुटवलमा सम्पन्न केन्द्रीय समितिको पूर्ण बैठकले गत भदौ २३ र २४ को जेन जी आन्दोलनलाई हिंसात्मक रूप दिन उक्साउने र २४ गरेको देशव्यापी तोडफोड, आगजनी र ध्वंसात्मक कार्यका लागि जिम्मेवार व्यक्तिहरू राजनीतिमा हाबी भएकाले त्यस्तो स्थिति आउने ठहर गरेको हो ।
युक्रेनमा राजनीतिक चरित्र र पृष्ठभूमि नभएका जेलेन्सकी सत्तामा जाँदा युद्ध र विनाशको स्थिति उत्पन्न भएको उदाहरण मसालले दिएको छ । पार्टीका निर्णयबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा महामन्त्री मोहनविक्रम सिंहले चुनावपछिको वर्तमान राजनीतिक अवस्थालाई मुलुक गम्भीर मोडमा पुगेको बताएका छन् ।
उनले अहिले आएको जनमत अमेरिकी डिजाइन र योजनामा आएको आरोप लगाउँदै हालै सम्पन्न आम निर्वाचनको परिणामलाई जनमत भन्न नमिल्ने दाबी गरे ।
उनले आम निर्वाचन नेपालको आवश्यकता, संविधानको मर्म र जनताको चाहनाअनुसार नभई बाह्य शक्ति, विशेषत: अमेरिकी रणनीतिअनुसार भएको आरोप लगाए । संसद् विघटनदेखि मध्यावधि निर्वाचनसम्मको प्रक्रिया योजनाबद्ध रूपमा अघि बढाइएको दाबी गर्दै उनले त्यसबाट देशमा कठपुतली सरकार निर्माणको आधार तयार भएको टिप्पणी गरे ।
महामन्त्री सिंहले चैत २३ र २४ गते देशभर भएको आन्दोलनलाई मूलत: भ्रष्टाचार, सामाजिक अन्याय र विसंगति विरुद्धको जन असन्तोषको अभिव्यक्ति भएको बताए । तर, स्पष्ट नेतृत्व र राजनीतिक दिशा नहुँदा उक्त आन्दोलनलाई विभिन्न अवसरवादी शक्तिहरूले आफ्नो स्वार्थअनुसार प्रयोग गरेको उनको भनाइ छ ।
उनले युवाहरूको स्वत: स्फूर्त सहभागिता रहेको शान्तिपूर्ण आन्दोलनलाई हाइ ज्याक गरिएको आरोप समेत लगाए ।उनले नेपालमा अमेरिकी प्रभाव विस्तार गर्ने प्रयास तीव्र भएको दाबी गर्दै केही राजनीतिक दलहरू त्यसप्रति नरम देखिएको टिप्पणी गरे । एमसीसी जस्ता परियोजनामार्फत नेपालमा रणनीतिक प्रभाव बढाउने प्रयास भइरहेको उल्लेख गर्दै उनले त्यसले राष्ट्रिय स्वाधीनता र दीर्घकालीन हितमा नकारात्मक असर पार्ने चेतावनी दिए ।
चैत २३ र २४ गते भएका हिंसात्मक घटनाबारे सरकारले गठन गरेको छानबिन आयोगको प्रतिवेदन सार्वजनिक नगरिएको प्रति उनले आपत्ति जनाए । आन्दोलनका क्रममा सर्वसाधारण माथि गोली प्रहार, आगजनी र तोडफोड जस्ता घटनालाई गम्भीर अपराधको संज्ञा दिँदै दोषीमाथि निष्पक्ष र कडा कारबाही गर्न माग गरे ।
साथै, शान्तिपूर्ण आन्दोलनको दाबी गर्ने पक्षले हिंसात्मक गतिविधिप्रति जिम्मेवारी लिनुपर्ने उनको भनाइ थियो । उनले सामाजिक सञ्जाल र सञ्चारमाध्यममार्फत जनमत प्रभावित पारिएको दाबी गर्दै चुनावी परिणाम जनताको वास्तविक समर्थन भन्दा प्रचार र मनोवैज्ञानिक प्रभावको परिणाम भएको टिप्पणी गरे ।
विगतमा जनचेतना विकृत हुँदा निरंकुश व्यवस्था लामो समय टिकेको उदाहरण दिँदै अहिले पनि त्यस्तै जोखिम दोहोरिन सक्ने उनले चेतावनी दिए । पत्रकार सम्मेलनमार्फत मसालले वर्तमान राजनीतिक अवस्थालाई गम्भीर चुनौतीका रूपमा प्रस्तुत गर्दै राष्ट्रिय स्वाधीनता, पारदर्शिता र जनताको हित अनुसार राजनीति सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याएको छ ।
साथै, हिंसात्मक घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र बाह्य प्रभावबाट मुक्त राष्ट्रिय नीति अवलम्बन गर्न सबै पक्षलाई आग्रह गरिएको छ ।
पत्रकार सम्मेलनमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले काँग्रेस एमाले लगायतका दलले एसपीपी पारित नगरेपछि उनीहरूको सरकार ढालेर बारबरा फाउन्डेसन नामको आइएनजिओका मान्छेको नेतृत्वमा सरकार बनाई मध्यावधि चुनावमार्फत अमेरिकाले आफू अनुकूलको दललाई जिताएको आरोप लगाए ।
चीनविरुद्ध लड्न अमेरिकाले नेपालमा षड्यन्त्र गरेर दलाई लामालाई स्थापित गर्न खोजेको केसीको आरोप छ । नेता केसीले नेपाली कांग्रेसलाई अमेरिकाको सीआईए ले फुटाएको आरोप समेत लगाए ।