गण्डकी प्रदेशमा नवौं अधिवेशन सुरु, राजनीतिक गतिविधि तीव्र

आइतबार, चैत ८, २०८२

पोखरा । गण्डकी प्रदेश सभाको नवौं अधिवेशन सुरु भएको छ । जेनजी आन्दोलनपछि असोज ७ गते आठौं अधिवेशन अन्त्य भएपछि आइतबारदेखि नवौं अधिवेशन सुरु भएको हो ।

जेनजी आन्दोलनले नदीपुरस्थित प्रदेश सभा भवन जलेर ध्वस्त भएपछि मालेपाटनस्थित कृषि मन्त्रालयको हललाई संसदको रुपमा प्रयोग गरिएको छ । नवौं अधिवेशनको पहिलो बैठकले गण्डकीका पूर्वसांसद कृष्ण थापाको शोक प्रस्ताव पारित गरेर केहीबेरलाई स्थगित गरिएको छ ।

केहीबेरमा बस्ने बैठकमा दलका नेताहरुले बोल्ने छन् भने प्रादेशिक सडक सम्बन्धी संशोधन गर्न बनेको विधेयक संसदमा पेश हुने छ । एमालेका पूर्वसांसद कृष्ण थापाको फागुन २८ गते कार्यक्रममा सहभागी भइरहेकै बेला ह्ृदयघातबाट मृत्यु भएको थियो ।

थापा २०७४ सालमा कास्की–२ (ख)बाट निर्वाचित भएका थिए । उनको निधनले प्रदेश सभालाई अपुरणीय क्षति पुगेको भन्दै संसदले शोक प्रस्ताव पारित गरेको छ । थापा २०५४  सालमा पोखराका मेयर थिए भने अहिले एमालेको केन्द्रीय सदस्य तथा कास्की ईन्चार्जसमेत थिए ।

कास्कीमा हक्की नेताको छवि बनाएका थापाले फागुन २१ को निर्वाचनमा सुरुमा टिकट पाए पनि नेतृत्वबाटै पछि युवा नेता रश्मि आचार्यलाई दिइएको थियो । २०७९ मा थापा पोखराको मेयर पदको निर्वाचनमा पराजित भएका थिए ।

प्रकाशित मिति: आइतबार, चैत ८, २०८२  १४:५३
प्रतिक्रिया दिनुहोस्