सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
काठमाडौँ — निर्वाचनमा हारपछि कांग्रेसमा सभापति गगन थापाको राजीनामाको विषयलाई लिएर विवाद सुरु भएको छ । कान्तिपुरमा कुलचन्द्र न्यौपाने लेख्छन सभापति थापाले पार्टीको हारको नैतिक जिम्मेवारी लिँदै राजीनामा दिन खोजिरहेका छन् तर उपसभापति विश्वप्रकाश शर्माले उनलाई रोकिरहेका छन् । अर्कोतर्फ नैतिक जिम्मेवारीको प्रश्न उठाउँदै पूर्वसभापति शेरबहादुर देउवापक्षीय केही नेताले सामाजिक सञ्जालबाट राजीनामाको विषय उठाउँदै आएका छन् ।
कांग्रेस सभापतिले राजीनामा दिँदा उपसभापतिसमक्ष बुझाउनुपर्ने वैधानिक व्यवस्था छ । तर, उपसभापति शर्माको पहिलो प्राथमिकता राजीनामा रोक्ने, नसकेमा केन्द्रीय कार्यसमितिबाट अस्वीकृत गराउनेमा केन्द्रित छ । ‘यसैमा टुंगो नलाग्दा तत्काल केन्द्रीय कार्यसमितिको बैठक बोलाउने र निर्वाचनको समीक्षा गर्ने काममा केही ढिलाइ भएको हो,’ एक पदाधिकारीले भने ।
महामन्त्री गुरुराज घिमिरेले भने चैत पहिलो साताभित्रै केन्द्रीय कार्यसमितिको बैठक बोलाएर निर्वाचन समीक्षा र पार्टीको आसन्न १५औं महाधिवेशनको तयारीबारे छलफल हुने बताए । सभापतिले राजीनामा दिनेभन्दा पनि महाधिवेशनको जिम्मेवारी पूरा गर्ने दिशामा अघि बढ्नु उचित हुने आफूहरूको धारणा भएको घिमिरेले जानकारी दिए ।
‘सभापतिले सार्वजनिक रूपमा राजीनामा दिन्छु भन्नुभएको छ,’ घिमिरेले भने, ‘तर विशेष परिस्थितिमा सभापतिले नेतृत्व लिनुभएको हो । निर्वाचन पनि विशेष परिस्थितिकै उपज हो । कति नैतिक जिम्मेवारीको विषय हो ? राजीनामा दिनुपर्ने हो वा होइन ? केन्द्रीय कार्यसमितिले छलफल गर्छ ।’ उनले नेतृत्वबारे प्रश्न उठाउनेहरूलाई महाधिवेशनमा प्रतिस्पर्धा गरेर नेतृत्व लिन चुनौती दिए ।
पूर्वसभापति देउवानिकट नेता मीन विश्वकर्मा निर्वाचनमा पराजय हुनुमा ‘सेनापति’ को बेइज्जती गरेर ‘युद्ध’ मा जाँदाको परिणाम रहेको बताउँछन् । ‘निर्वाचनको मिति घोषणा भइसकेर एक महिना पनि बाँकी नरहँदा दलभित्र विद्रोह गर्नुपर्छ र यो विद्रोहबाट आएको शक्ति नै सबैभन्दा बढी लोकप्रिय हुन्छ भन्ने विपरीत ध्रुवको मान्यताले कांग्रेसलाई यहाँसम्म ल्याइपुर्याएको हो,’ उनले भने ।
२७–३० पुसमा भृकुटीमण्डपमा भएको विशेष महाधिवेशनले तत्कालीन देउवा नेतृत्वको केन्द्रीय कार्यसमिति भंग गरेर थापा नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमितिको चयन गरेको थियो । १ माघमा घोषणा भएको केन्द्रीय कार्यसमितिलाई ४ माघमा निर्वाचन आयोगले मान्यता दिएको थियो । निर्वाचन आयोगको मान्यतापछि थापा नेतृृत्वको केन्द्रीय कार्यसमिति एक दिनकै बीचमा १ सय ६५ निर्वाचन क्षेत्रमै उम्मेदवार खडा गरेर चुनावमा होमिएको थियो । तर, कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी ३८ सिट मात्र जित्न सफल भयो । सभापति थापा स्वयं चुनावमा पराजित भए ।
यद्यपि, सभापति थापाको राजीनामा माग्ने कि तत्काल महाधिवेशन गराउनेतिर जुट्ने भन्नेबारे देउवा पक्षभित्रै मतैक्य छैन । खासगरी देउवा नेपाल फर्कने टुंगो नलागेकै कारण तत्कालीन संस्थापनको नेतृत्व कसले गर्ने भन्नेमा नै समस्या देखिएको छ । पूर्वसभापति देउवा १३ फागुनमा प्रमुख स्वकीय सचिव भानु देउवाका साथ सिंगापुर गएका थिए । पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेकी देउवा पत्नी आरजु राणा देउवा पनि १० फागुनमा भारत गएपछि फर्किएकी छैनन् ।
‘सिंगापुरबाट आफूनिकटका केही नेताहरूसँग उहाँ (देउवा) नियमित सम्पर्कमै हुनुहुन्छ । पार्टीको विवादबारे अदालतको फैसलाको प्रतीक्षामा हुनुहुन्छ,’ देउवानिकट एक नेताले भने । थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई निर्वाचन आयोगले मान्यता दिने निर्णयविरुद्ध देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर
खड्काले दायर गरेको रिट सर्वोच्च अदालतमा विचाराधीन छ । आइतबारका लागि तोकिएको पेसी पालो नआएर अर्को महिना सरेको छ ।
अदालतको फैसलाको प्रतीक्षाभन्दा महाधिवेशनको तयारीमा लाग्नुपर्ने धारणा देउवा पक्षका अधिकांश नेताहरूको छ । वर्तमान केन्द्रीय कार्यसमितिमा देउवा पक्षका कसैको पनि प्रतिनिधित्व छैन । देउवानिकट नेता श्याम घिमिरे दुवै पक्षलाई समेट्न तत्कालीन र वर्तमान केन्द्रीय कार्यसमितिलाई ‘मर्ज’ गरेर महाधिवेशनमा जानुपर्ने बताउँछन् । ‘अदालतले अर्को निर्णय नगर्दासम्म कांग्रेसका सभापति गगन थापा नै हुन् । उनको राजीनामाभन्दा पनि तत्कालीन केन्द्रीय कार्यसमिति र थापा नेतृत्वको कार्यसमिति मर्ज गरेर ढिलोमा आगामी मंसिरसम्ममा महाधिवेशन गर्नुपर्छ,’ घिमिरेले भने ।
विशेष महाधिवेशन अगाडि नै तत्कालीन केन्द्रीय कार्यसमितिले आगामी वैशाख २८–३१ सम्म महाधिवेशन गर्ने तालिका पारित गरेको थियो । समयको चापले पूर्वनिर्धारित मितिमै महाधिवेशन गर्न नसकिए चाँडै महाधिवेशनको तयारीमा अघि बढिने महामन्त्री घिमिरेले बताए । नेता नैनसिंह महर अब पार्टीभित्र बृहत् एकता कायम गर्नुको विकल्प नभएको बताउँछन् । ‘सुनामीले यतिबेला सबैलाई बढारेको अवस्था छ,’ महरले भने, ‘अब बृहत् एकता कायम गरेर अघि बढ्नुपर्छ ।’