किम जोङ उनले छोरीसँग गरे रकेट लञ्च प्रणालीको परीक्षण

आइतबार, चैत १, २०८२

प्योङयाङ । उत्तर कोरियाका नेता किम जोङ उनले आफ्नी किशोरी छोरीको साथमा एकै पटकमा धेरै वटा रकेट प्रहार गर्न सक्ने प्रक्षेपण प्रणालीको प्रत्यक्ष प्रक्षेपण परीक्षण अवलोकन गरेका छन् । त्यहाँको सरकारी समाचार संस्था कोरियन सेन्ट्रल न्युज एजेन्सीले आइतबार यसबारे जानकारी दिएको हो । 

समाचार अनुसार किम र उनको छोरीले शनिबार उत्तर कोरियाको पूर्वी तटतर्फ ६०० मिलिमिटर क्यालिबरका उच्च–सटिक १२ वटा रकेट लञ्चर प्रयोग गरी गरिएको प्रहार अभ्यासको अवलोकन गरेका थिए । यो परीक्षण जारी संयुक्त सैन्य अभ्यासको प्रतिक्रियाका रूपमा गरिएको मानिएको छ । जसलाई उत्तर कोरियाले आक्रमणको अभ्यासको रूपमा व्याख्या गर्दै आएको छ ।

यसैबिच दक्षिण कोरियाको सेनाले शनिबार उत्तर कोरियाको राजधानी क्षेत्रबाट पूर्वी समुद्रतर्फ करिब १० वटा ब्यालिस्टिक मिसाइल प्रक्षेपण गरिएको पत्ता लागेको जनाएको छ । दक्षिण कोरियाको राष्ट्रिय सुरक्षा परिषद्ले यी प्रक्षेपणलाई उक्साहटपूर्ण कार्य भन्दै आलोचना गरेको छ । साथै, संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्का प्रस्तावहरूले उत्तर कोरियालाई कुनै पनि प्रकारका ब्यालिस्टिक गतिविधि गर्न प्रतिबन्ध लगाएको भए पनि पछिल्लो परीक्षणले ती प्रस्तावको उल्लङ्घन गरेको दक्षिण कोरियाको भनाइ छ ।

केसीएनएका अनुसार किमले उक्त अभ्यासले ४२० किलोमिटर दूरीसम्म रहेका शत्रुहरूलाई असहज बनाउने र सामरिक आणविक हतियारको विनाशकारी शक्ति बुझाउने बताएका छन् । 

उनले अप्रत्यक्ष रूपमा दक्षिण कोरिया र त्यहाँ तैनाथ अमेरिकी सेनालाई लक्षित गरेको बताइएको छ । किमले भनेका छन्– ‘यदि यो हतियार प्रयोग गरियो भने यसको प्रहार दायराभित्र पर्ने शत्रुको सैन्य संरचना कुनै पनि हालतमा बच्न सक्दैन ।’ एजेन्सी

प्रकाशित मिति: आइतबार, चैत १, २०८२  १२:२७
प्रतिक्रिया दिनुहोस्