बालेनले क्याबिनेट आफैं छान्ने संकेत दिएपछि राजनीतिक वृत्तमा तरंग

सोमबार, फागुन २५, २०८२

बाँके । भावी प्रधानमन्त्रीका रूपमा चर्चा भइरहेका काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले आफ्नो क्याबिनेट आफैं छान्ने संकेत दिएपछि सिंहदरबारको परम्परागत शक्ति समीकरणमा तरंग पैदा भएको छ।

सिंहदरबारमा मन्त्री बन्नका लागि हुने भनसुन, गुटबन्दी र शक्ति केन्द्रको प्रभावलाई तोड्ने सन्देशसहित बालेनले क्षमता र योग्यताका आधारमा मन्त्री छनोट गर्ने संकेत दिएका हुन्।

बालेन र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच समन्वय गराउन भूमिका खेलेका असिम शाहले सांसदहरूलाई मन्त्री बन्नका लागि भनसुन र चाकडी नगर्न स्पष्ट सन्देश दिएका छन्। उनका अनुसार बालेनले सबै सांसदको कार्यशैली र क्षमताबारे राम्रो जानकारी राखेकाले मन्त्री चयन प्रक्रिया पनि योग्यता र काम गर्ने क्षमतामा आधारित हुनेछ।

असिम शाहको यो अभिव्यक्तिपछि राजनीतिक वृत्तमा नयाँ बहस सुरु भएको छ। कतिपयले यसलाई नेपाली राजनीतिमा नयाँ राजनीतिक संस्कारको संकेतका रूपमा हेरेका छन् भने कतिपयले यो व्यवहारिक रूपमा कति सम्भव हुन्छ भन्ने प्रश्न पनि उठाएका छन्।

विश्लेषकहरूका अनुसार यदि बालेनले दाबी गरेझैं क्याबिनेट गठन गर्न सके, यसले सिंहदरबारमा लामो समयदेखि चल्दै आएको गुट, सिफारिस र शक्ति केन्द्रको प्रभावलाई कमजोर पार्ने सम्भावना देखिन्छ।

यता दलभित्र र बाहिर भने मन्त्री छनोटको अधिकार, पार्टी संरचना र संसदीय अभ्यासबीच सन्तुलन कसरी मिलाइन्छ भन्ने विषयमा चर्चा सुरु भएको छ।Screenshot-2026-03-09-112338-1773034835.png

प्रकाशित मिति: सोमबार, फागुन २५, २०८२  ११:२८
प्रतिक्रिया दिनुहोस्