अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा प्रचण्डको शुभकामना

आइतबार, फागुन २४, २०८२

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (मार्च ८) का अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनीहरूलाई हार्दिक शुभकामना व्यक्त गरेका छन्।

शुभकामना सन्देश जारी गर्दै उनले महिलाहरू समाज परिवर्तनका निर्णायक शक्ति भएको उल्लेख गरेका छन्। इतिहासका विभिन्न कालखण्डमा महिलाहरूले देखाएको साहस, त्याग र संघर्षकै कारण आज महत्वपूर्ण अधिकारहरू प्राप्त भएको उनको भनाइ छ।

उनले व्यवहारिक जीवनमा अझै पनि महिलामाथि असमानता र हिंसा पूर्ण रूपमा अन्त्य हुन नसकेको उल्लेख गर्दै उत्पादन र श्रमको सम्मानका सन्दर्भमा विभेद कायम रहेको बताएका छन्। साथै स्वतन्त्रता र अधिकारका नाममा बजारवादी पूँजीवादी संरचनाले महिलामाथि नयाँ–नयाँ रूपका शोषण र असमानता सिर्जना गरिरहेको वास्तविकता पनि औंल्याएका छन्।

प्रचण्डले सबैखाले शोषण र विभेदको अन्त्य गर्दै महिलालाई वास्तविक समानता दिलाउन आवश्यक रहेको बताएका छन्। उनले संविधानमा प्राप्त अधिकारहरूको रक्षा गर्दै जनसंख्याको अनुपातअनुसार राज्यका सबै तह र संरचनामा महिलाको समानुपातिक र अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्।

समानता, सम्मान र सामाजिक न्यायमा आधारित समाज निर्माणको अभियानमा सबै महिलाहरूलाई उनले पुनः शुभकामना व्यक्त गरेका छन्।647394616_1440109240812801_8662254390495442505_n-1772941553.jpg

प्रकाशित मिति: आइतबार, फागुन २४, २०८२  ०९:३२
प्रतिक्रिया दिनुहोस्