डोल्पामा नेपाली सेनाको हवाई गस्ती

बुधबार, फागुन २०, २०८२

डोल्पा । हिमाली जिल्ला डोल्पामा प्रतिनिधिसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्था कडा पारिएको छ । निर्वाचन आउन एकदिन मात्रै बाँकी रहँदा नेपाली सेनाले डोल्पामा निर्वाचनलक्षित विशेष सुरक्षा रणनीति कार्यान्वयनमा ल्याएको जनाएको छ ।

जिल्लाभर शान्ति सुरक्षा कायम राख्न सेनाले हवाई गस्ती सञ्चालन गरेको संग्राम शार्दल गुल्मका गुल्मपति हरीश शाहीले जानकारी दिए ।

डोल्पा मात्र नभई सम्भावित जोखिमलाई मध्यनजर गर्दै कर्णालीका सबै जिल्लाका संवेदनशील तथा अति संवेदनशील मतदान स्थलहरूमा निर्वाचनको अघिल्लो दिन हवाई गस्तीमार्फत निगरानी बढाइएको उत्तरपश्चिम पृतना हेडक्वाटर सुर्खेतले जानकारी दिएको छ ।

सेनाले मतदानस्थल तथा आसपासका क्षेत्रमा सवारी साधन, तथा पैदल गस्ती, घोडामार्फत निरीक्षण गरिएको बताएको छ ।

निर्वाचनका लागि जिल्लाभर भयरहित वातावरण सिर्जना गर्न नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलले एकीकृत निर्वाचन सुरक्षा योजनाअनुसार संयुक्त रूपमा सुरक्षा गस्ती तथा निगरानी गरिरहेको प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले जानकारी दिइन् ।

प्रमुख जिल्ला अधिकारी ढकालले आम मतदातालाई ढुक्क भएर आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गरिन् छन् ।आजै गस्तीका लागि माथिल्लो डोल्पा पुगेको सेनाको हेलिकप्टरमार्फत बिरामी परेका निर्वाचन कर्मचारी तथा सुरक्षाकर्मीको उद्धार पनि गरिएको छ ।

प्रकाशित मिति: बुधबार, फागुन २०, २०८२  १६:५७
प्रतिक्रिया दिनुहोस्