रास्वपा उम्मेदवार सोविता गौतमले आदिवासी जनजातिको अपमान गरेको भन्दै आलोचना

मंगलबार, फागुन १९, २०८२

काठमाडौं । चितवन क्षेत्र नम्बर ३ की रास्वपा उम्मेदवार सोविता गौतमले आदिवासी जनजातिलाई लक्षित गरी अपमानजक अभिव्यक्ति दिएको भन्दै विरोध भएको छ । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला परिषद सचिवालय चितवन र नेपाल तमु (गुरुङ) विद्यार्थी छोंज धीं केन्द्रीय समितिले छुट्टाछुट्टै विज्ञप्ति निकालेर गौतमको अभिव्यक्तिको विरोध जनाएका हुन् ।

रास्वपा उम्मेदवार गौतमले चुनावी सभालाई सम्बोधनको क्रममा आदिवासी समुदायलाई ‘पैसाले किन्न सकिने’ र ‘बिक्न सक्ने वर्ग’ भनेको आरोप छ ।

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला परिषद सचिवालय चितवनका अध्यक्ष सागर कुमालले विज्ञप्ति जारी गरेर वर्षौंदेखि आफ्नो पहिचान, स्वाभिमान र अधिकारका लागि संघर्षरत आदिवासी जनजाति समुदायको मानमार्दन गरेको आरोप लगाएका छन् ।

‘गुरुङ र थारु लगायतका सामुदायलाई ‘सोझो’’ र ‘‘पैसामा बिक्ने’’ भनी वर्गिकृत गर्नुले उम्मेदवारको संकीर्ण र नश्लवादी सोचलाई उजागर गरेको छ,’ अध्यक्ष कुमालले जारी गरेको विज्ञप्तिमा लेखिएको छ,  ‘आदिवासी जनजाति कसैको प्रलोभनमा पर्ने समूह नभई आफ्नै इतिहास र गौरव बोकेको सचेत नागरिक समाज हो । मतदातालाई ‘‘पैसा दिए लिनुस्’’ भनी आर्थिक लेनदेनमा सहभागी हुन उक्साउनु सरासर निर्वाचन आचारसंहिताको उल्लंघन र लोकतान्त्रिक मूल्य मान्यताको उपहास हो ।’

उनले २४ घण्टाभित्र सार्वजनिक रुपमा माफी माग्दै लिखित स्पष्टीकरण पेस गर्न गौतमसँग मागसमेत गरेका छन् ।यसैगरी नेपाल तमु (गुरुङ) विद्यार्थी छोंज धीं केन्द्रीय समितिका महासचिव अनिल त्होर्जे तमुले जारी गरेको विज्ञप्तिमा रास्वपा उम्मेदवार गौतम र सम्बन्धित दलले गल्ती स्वीकार नगरेमा सशक्त आन्दोलनका कार्यक्रम गर्ने चेतावनी दिएको छ । अनलाइनखबर

प्रकाशित मिति: मंगलबार, फागुन १९, २०८२  १२:४४
प्रतिक्रिया दिनुहोस्