सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
काठमाडौं — समाजवादी कम्युनिस्ट पार्टी नेपालले इरानमाथि अमेरिकाले आतङ्कवादी आक्रमण गरेको दाबी गर्दै त्यसको कडा भर्त्सना गरेको छ। पार्टीले आइतबार जारी गरेको प्रेस वक्तव्यमा उक्त आक्रमणमा इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी सहित दर्जनौँ व्यक्तिको मृत्यु भएको दाबी गरिएको छ।
पार्टीका महासचिव समरजङ्ग द्वारा जारी विज्ञप्तिमा इरानको स्वाधीनता र सार्वभौमिकतामाथि गरिएको आक्रमणलाई “अमेरिकी साम्राज्यवादको चरम रूप” भन्दै आलोचना गरिएको छ। वक्तव्यमा साम्राज्यवादविरुद्धको प्रतिरोध युद्धमा जीवन आहुति दिनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गरिएको छ भने शोकसन्तप्त इरानी जनताप्रति समवेदना प्रकट गरिएको छ।
पार्टीले अमेरिकाले मध्यपूर्वको तेल तथा खनिज स्रोतमा नियन्त्रण जमाउने उद्देश्यले इरानमाथि आक्रमण गरेको आरोप लगाएको छ। वक्तव्यमा भनिएको छ, इरान लामो समयदेखि अमेरिकी दबाब र आक्रमणको प्रतिरोध गर्दै आएको र मध्यपूर्वमा साम्राज्यवादविरोधी शक्तिको रूपमा उभिएको दाबी गरिएको छ।
यस घटनाले अन्तर्राष्ट्रिय कानुन र मानवीय मूल्यहरूको गम्भीर उल्लङ्घन गरेको पार्टीको ठहर छ। यस्ता आक्रमणहरूलाई समयमै रोक्न नसके कमजोर राष्ट्रहरूको अस्तित्व खतरामा पर्ने र विश्वव्यापी द्वन्द्वको जोखिम बढ्ने चेतावनी पनि पार्टीले दिएको छ।
समाजवादी कम्युनिस्ट पार्टी नेपालले विश्वभरका साम्राज्यवादविरोधी शक्तिहरूलाई अन्यायपूर्ण युद्धको अन्त्य र विश्वशान्तिको पक्षमा एकजुट हुन आह्वान गरेको छ। साथै, पुँजीवाद र साम्राज्यवाद अन्त्य नगरी दीगो विश्वशान्ति सम्भव नहुने पार्टीको धारणा रहेको छ।
वक्तव्यको अन्त्यमा पार्टीले मध्यपूर्वमा रहेका नेपाली नागरिकहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ भने त्यहाँ रहेका नेपालीहरूको सुरक्षाका लागि नेपाल सरकारलाई आवश्यक व्यवस्था मिलाउन अनुरोध गरेको छ।