मध्यपूर्वको अवस्थाबारे नेपाल सरकारको चासो, इजरायल र इरानमा रहेका नेपालीलाई सतर्क रहन आग्रह

शनिबार, फागुन १६, २०८२

काठमाडौं l नेपाल सरकारले मध्यपूर्वमा विकसित भइरहेको परिस्थितिलाई नजिकबाट निगरानी गरिरहेको जनाएको छ। सोही सन्दर्भमा मन्त्रालयले इजरायल र इरानमा बसोबास गरिरहेका नेपाली नागरिकहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

परराष्ट्र मन्त्रालयद्वारा जारी सूचनाअनुसार, ती देशहरूमा रहेका नेपालीहरूले सम्बन्धित देशका सक्षम निकायहरूले जारी गरेका सुरक्षा निर्देशन र परामर्शहरू कडाइका साथ पालना गर्नुपर्नेछ। सकेसम्म घरभित्रै बस्न, सजग रहन, आवश्यक सतर्कता अपनाउन तथा आफ्नो-आफ्नो स्थानमा रहेका नेपाली समुदायसँग निरन्तर सम्पर्कमा रहन आग्रह गरिएको छ।

त्यसैगरी, सम्बन्धित निकायको अनुमति बिना अनावश्यक यात्रा नगर्न तथा काठमाडौंस्थित परराष्ट्र मन्त्रालय, तेलअभिवस्थित नेपाली दूतावास र दोहास्थित नेपाली दूतावाससँग नियमित सम्पर्कमा रहन पनि मन्त्रालयले अनुरोध गरेको छ।

हालको अस्थिर अवस्थालाई ध्यानमा राख्दै इजरायल वा इरान यात्रा गर्ने योजना बनाएका नेपाली नागरिकहरूलाई अवस्था सामान्य नहुन्जेल यात्रा स्थगित गर्न कडा सुझाव दिइएको छ। साथै, अन्य मध्यपूर्वी मुलुकहरूमा रहेका नेपाली नागरिकहरूलाई पनि स्थानीय परिस्थितिको निरन्तर निगरानी गर्दै सम्बन्धित देशका सुरक्षा निकायले सुझाएका सावधानीका उपायहरू पालना गर्न भनिएको छ।

सम्पर्क विवरण

परराष्ट्र मन्त्रालय, काठमाडौं
📞 फोन: +977-9862678437
📧 इमेल: [email protected]

नेपाली दूतावास, तेलअभिव (इजरायल)
📞 फोन: +972-545582077
📧 इमेल: [email protected]

नेपाली दूतावास, दोहा (कतार)
📞 फोन: +974-6621 4419
📧 इमेल: [email protected]

प्रकाशित मिति: शनिबार, फागुन १६, २०८२  १६:५७
प्रतिक्रिया दिनुहोस्