सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
गुल्मी । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले इन्जिनियर, निर्माण व्यवसायी र श्रमिकलाई दोषी देखाउँदै रुखमा बाँधेर देश नबन्ने बताएका छन् ।
गुल्मी क्षेत्र नम्बर १ मा आयोजित चुनावी सभामा शर्माले रास्वपा नेता बालेन शाहलाई लक्षित गर्दै प्राविधिक जनशक्ति र श्रमिकलाई अपमान गर्ने शैली गलत भएको टिप्पणी गरेका हुन् ।
उनले उत्तेजनामा आएर भाषण गर्दैमा देश नबन्ने स्पष्ट पारे । शर्माले देश निर्माणका लागि स्पष्ट दृष्टिकोण, योजनाबद्ध कार्यशैली र निरन्तर परिश्रम आवश्यक पर्ने बताए । पैसामात्रै भएर देश बन्दैन, देश बनाउन सोच र संकल्प चाहिन्छ, उनले बताए । नेपाली कांग्रेसले विकास निर्माणका कामलाई तीव्रता दिन तीन सिफ्टमा काम गर्ने योजना अघि सारेको बताए ।
पहिले १० वर्षमा सकिनुपर्ने काम ३० वर्ष लागेको बताउँदै उनले अब दिन-रात तीन सिफ्टमा काम गरेर ३० वर्षको काम १० वर्षमै सक्ने बेला आएको उनको भनाइ छ ।
नेपालमा प्रचलित सूर्य अस्त, नेपाल मस्त भन्ने सोच त्यागेर उत्पादनशील र परिणाममुखी कार्यसंस्कृति अपनाउनुपर्नेमा उनले जोड दिए । देशलाई अघि बढाउन सबै क्षेत्रको सहकार्य, सकारात्मक सोच र कडा मेहनत आवश्यक रहेको उनको भनाइ थियो ।
कांग्रेस बदलिएको सोचसहित आएकाले मतदातालाई उम्मेदवारको पक्षमा लाग्न आग्रह गरे । कार्यक्रममा नेपाली कांग्रेसका नेता गुल्मी १ का प्रतिनिधि सभा उम्मेदवार डा चन्द्र भण्डारीलगायत प्रदेश जिल्ला स्तरका नेताहरूले सम्बोधन गरेका थिए ।