दुर्गा प्रसाईंले भने– अब राजा बाटोमा निस्किने सुन्याछु, थुन्ने दम छ ?

बुधबार, फागुन १३, २०८२

काठमाडौं । राजावादी अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईं १३ पटक पक्राउ परेपश्चात आज थुनामुक्त भएका छन् । उनलाई बन्दी प्रत्यक्षीकरणको रिटमा हिजो सर्वोच्च अदालतले थुनामुक्त गर्ने आदेश दिएको थियो ।

निर्वाचन आयोगले चुनाव भाँड्ने गतिविधि गरेको भन्दै प्रसाईंलाई पक्राउ गर्न प्रहरीलाई पत्राचार गरेको थियो । चुनावसम्म थुनाभित्रै राख्ने सरकारको रणनीति भए पनि अदालतले भने फेरि एकपटक प्रसाईंको पक्षमा आदेश गरेको छ ।

आदेश हिजो आए पनि प्रक्रिया पूरा गरेर प्रसाईं आज निस्किएका हुन् । बाहिरिनासाथ उनले युट्यूवर भेला गराएर आफ्नै शैलीमा भाषण दिँदै देश युक्रेनको बाटोमा गएको बताए । आफू अहिले रुन मात्रै नसकेको उनको भनाइ थियो ।

प्रसाईंले भने, ‘यो चुनाव भएको दिनदेखि देश युक्रेनको बाटोमा गयो । यो कुरा भन्नुपर्दाखेरि मेरो हृदय फुटेको छ । म रुन मात्रै सकेको छैन । मेरो आँखाबाट आँसु हत्तपत्ति झर्दैन र मात्रै । युक्रेनको बाटोमा लानलाई नेपाली सेना किन उद्यत हुँदैछ ? किन चुनाव हुनुभन्दा एक महिना अगाडिदेखि निस्किँदैछ सडकमा ?’

आफूले चुनाव हुँदैन भन्दा पक्राउ गरेर थुनिएको तर अहिले राजाले नै चुनाव हुँदैन भनेर सार्वजनिक अभिव्यक्ति दिएको उनले बताए ।

‘मलाई थुन्ने ठाउँमा मैले श्रीमानलाई पनि भनेँ, राजाले पनि चुनाव गर्नु हुँदैन भनेर भन्नुभयो, राजसी शैलीमा । चुनाव गर्नु हुँदैन भन्दा मलाई ल्याएर थुन्नुभयो । राजालाई पनि ल्याएर थुन्नुस् । दम छ ओम प्रकाश अर्याल ? दम छ सुशीला कार्की ? अनि दम छ त्यो, त्यो काठमाडौँको सिडिओको ? के लोकतन्त्रमा बोल्न पाइँदैन ?’

उनले राजा स्वयम् अब सडकमा उत्रिन सक्ने भन्दै पक्राउ गरेर देखाउन चुनौति दिए । ‘राजाका अगाडि बाबाको दुहाइ भन्छन् । अब राजाले पनि हिम्मत गर्नुपर्छ । मैले राजा पनि अब बाटोमा निस्किने कुरा सुनेको छु । राजा बाटोमा निस्किँदाखेरि नि, विदेशी सेना आयो भन्न सक्दिनँ, होइन भने नेपाली सेना, नेपाली पुलिस र जनताले दरवारभित्र लगेर गद्दीमा राखेर सलाम गर्छन्,’ उनले भने ।

हालैमात्र प्रसाईंले कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु देउवा र पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग भेटेको तस्विर सामाजिक सञ्जालमा आएको थियो । प्रसाईंले यसबारे पनि स्पष्टीकरण दिए । उनले तस्विर पुरानो भएको बताए ।

उनले भने, ‘भेटेको हो, तर दुई–अढाइ वर्ष अगाडि । उहाँको पनि स्कुल छ र मेरो पनि स्कुलको कामले जाँदाखेरि भेट भएको बेला फोटो खिचियो । त्यतिखेर उहाँ परराष्ट्रमन्त्री हुनुहुन्थ्यो । मैले के गल्ती गरेँ ? फोटो खिच्दैमा के बिग्रियो ? फोटो त प्रधानमन्त्रीसँग पनि खिचेको छु । अस्ति भेटेर मुर्ति नै दिएँ त । ओलीसँग, प्रचण्डसित पनि फोटो खिचेको छु । फोटोको कुनै अर्थ हुँदैन क्या ।’

आफ्नो हातमा हातमा देश आयो भने पहिला आरजु देउवालाई ल्याएर थुन्ने उनले दावी गरे । ‘आरजुपछि केपी ओलीलाई ल्याएर थुन्छु । सिंहदरबार र सर्वोच्च अदालतमा आगो लगाउन जसले प्लान गर्यो त्यसलाई पनि ल्याएर थुन्छु,’ उनले भने ।

प्रकाशित मिति: बुधबार, फागुन १३, २०८२  १६:२५
प्रतिक्रिया दिनुहोस्
समाचार
विचार