सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
जुम्ला । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुम्लाको एक मतदान केन्द्रमा सबै कर्मचारी महिला मात्र खटाइएको छ । जिल्ला सदरमुकाम खलङ्गामा रहेको चन्दननाथ मावि मतदान केन्द्रमा सबै कर्मचारी महिला मात्र खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले जनाएको छ ।
मुख्य निर्वाचन अधिकृत आनन्दराज पन्तका अनुसार उक्त मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृतदेखि सहायक कर्मचारी र कार्यालय सहयोगी समेत महिला खटाइएको हो ।
जिल्लामा पुरुष र महिला गरी जम्मा मतदाता ७१ हजार ७३९ जना रहेका छन् । ६५४ जना कर्मचारी निर्वाचनमा खटिएका छन् । प्रत्येक मतदान केन्द्रमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, तीन सहायक कर्मचारी र एक कार्यालय सहयोगी कर्मचारी रहने छन् ।
जिल्लाभर ११० मतदान केन्द्र र ८५ वटा मतदानस्थल कायम गरिएको निर्वाचन कार्यालय जुम्लाका निर्वाचन अधिकारी दिपेन्द्र कँडेलले बताए । उनका अनुसार निर्वाचनलाई लक्षित गर्दै जिल्लाका आठवटा स्थानीय तहका ६० वटै वडामा मतदाता शिक्षा कार्यक्रम सन्चालन भइरहेको छ ।
निर्वाचनका लागि जिल्लामा प्रत्यक्ष र समानुपातिक तर्फको मतपत्र समेत आइपुगेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाका सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमिल्सिनाका अनुसार प्रत्यक्षतर्फको ७७ हजार र समानुपातिक तर्फको ८० हजार मतपत्र जुम्ला आइपुगेको हो ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र जिल्लामा ९७४ जना निर्वाचन प्रहरी निर्वाचनको सुरक्षाका लागि खटिने प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले जानकारी दिए । ९२५ जना अस्थायी मतदाता नामावली संकलन भएको र जिल्लामा दुईवटा अस्थायी मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । अनलाइनखबर