शैक्षिक संस्थाका शिक्षक–कर्मचारीलाई निर्वाचन प्रचारमा नजोडिन निर्वाचन आयोगको कडा चेतावनी

सोमबार, फागुन ११, २०८२

काठमाडौं — आगामी संवत् २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र भयमुक्त वातावरणमा सम्पन्न गराउने उद्देश्यसहित निर्वाचन आयोग नेपालले लागू गरेको निर्वाचन आचारसंहिता उल्लङ्घन नगर्न शैक्षिक संस्थामा आबद्ध प्राध्यापक, शिक्षक तथा कर्मचारीलाई कडा निर्देशन दिएको छ।

आयोगका अनुसार केही प्राध्यापक, शिक्षक तथा कर्मचारी राजनीतिक दल वा उम्मेदवारको पक्षमा निर्वाचन प्रचारप्रसारमा संलग्न भएको भन्दै आयोगमा उजुरी तथा गुनासो प्राप्त भएका छन्। यसलाई गम्भीर रूपमा लिँदै आयोगले आचारसंहिताको पूर्ण पालना गर्न पुनः स्मरण गराएको हो।

शिक्षा ऐन २०२८ अनुसार शिक्षक वा कर्मचारी कुनै राजनीतिक दलको कार्यकारिणी समितिको सदस्य रहेको पाइएमा पदबाट हटाउन सकिने स्पष्ट व्यवस्था छ। साथै निर्वाचन आचारसंहिता २०८२ ले विद्यालय, क्याम्पस, विश्वविद्यालय तथा सोसँग सम्बद्ध शिक्षक–कर्मचारीलाई कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न पूर्ण रूपमा निषेध गरेको छ। त्यस्तै, शैक्षिक संस्थाका सवारीसाधन, भवन वा अन्य सामग्री निर्वाचन प्रयोजनका लागि प्रयोग गर्न नपाइने व्यवस्था पनि आचारसंहितामा उल्लेख छ।

आयोगले शैक्षिक संस्थामा आबद्ध सबै प्राध्यापक, शिक्षक तथा कर्मचारीलाई आफ्नो पदको मर्यादा, तटस्थता र कानुनी दायित्वलाई ध्यानमा राख्दै निर्वाचन आचारसंहिता विपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन सचेत गराएको छ।

यदि आचारसंहिता उल्लङ्घन गरी निर्वाचन प्रचारप्रसारमा संलग्न भएको पाइएमा आचारसंहिताको दफा ४८ अनुसार कारबाही गरिने आयोगले स्पष्ट पारेको छ। साथै जिल्ला आचारसंहिता अनुगमन समिति, निर्वाचन अधिकृत तथा सम्बन्धित निर्वाचन कार्यालयलाई समेत कडाइका साथ अनुगमन गर्न अनुरोध गरिएको छ।

आयोगका सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराई द्वारा जारी विज्ञप्तिमा निर्वाचन आचारसंहिताको पूर्ण पालना सबै सरोकारवालाको साझा दायित्व भएको उल्लेख गरिएको छ।641640947_25901117896183861_4053661551382582757_n-1771849624.jpg

प्रकाशित मिति: सोमबार, फागुन ११, २०८२  १८:१४
प्रतिक्रिया दिनुहोस्