७६औँ प्रजातन्त्र दिवसमा प्रधानमन्त्री सुशिला कार्कीको आह्वान: स्वच्छ निर्वाचनमार्फत लोकतान्त्रिक स्थायित्व आवश्यक

बिहीबार, फागुन ७, २०८२

७६औँ प्रजातन्त्र दिवस तथा निर्वाचन दिवसको अवसरमा प्रधानमन्त्री सुशिला कार्कीले सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।

सन्देशमा उहाँले २००७ सालको क्रान्तिले नेपाली जनतालाई रैतीबाट नागरिक बनाएको र २०१५ सालमा आजकै दिनबाट पहिलो संसदीय निर्वाचनको ऐतिहासिक सुरुवात भएको स्मरण गराउनुभयो।

प्रधानमन्त्री कार्कीले लोकतन्त्रलाई जीवनशैलीका रूपमा विकास गर्न नेतृत्व तहबाट कमजोरी भएको स्वीकार गर्दै पटक–पटक आन्दोलन गर्नुपरेको यथार्थ उल्लेख गर्नुभयो।
“अब त्यो नियतिको अन्त्य गर्नैपर्छ,” उहाँको भनाइ थियो।

उहाँले भ्रष्टाचार, नातावाद र विभेदविरुद्धको संकल्पलाई संस्थागत सुधारमार्फत सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो।
स्वच्छ, निष्पक्ष र भयमुक्त निर्वाचनमार्फत लोकतान्त्रिक स्थायित्व र समृद्ध नेपाल निर्माणका लागि सबै नागरिक एकजुट हुनुपर्ने उहाँको आह्वान छ।

सन्देशको अन्त्यमा प्रधानमन्त्री कार्कीले प्रजातन्त्र र सुशासनका लागि जीवन अर्पण गर्ने सम्पूर्ण शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभयो।

प्रकाशित मिति: बिहीबार, फागुन ७, २०८२  ०९:२५
प्रतिक्रिया दिनुहोस्