सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
हुम्ला । सेवा सविधामा असन्तुष्टि जनाउँदै हुम्लामा निर्वाचन प्रहरीहरूले नाराबाजी गरेका छन् । उनीहरू जिल्ला प्रशासन कार्यालय अगाडि भेला भएर प्रदर्शन गरिरहेका छन् ।
प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले निर्वाचन प्रहरीहरूले सेवा सुविधाको कुरा उठाएर नाराबाजी गरिरहेको र त्यसबारे बुझ्ने काम भइरहेको बताए ।
‘म निर्वाचन आचार संहिताको विषयमा छलफल गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आएको छु,’ प्रमुख जिल्ला अधिकारी रेग्मीले भने, ‘निर्वाचन प्रहरीहरूको असन्तुष्टिबारे बुझ्ने काम भइरहेको छ ।’
२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि हुम्लामा ५ सय ९५ जना निर्वाचन प्रहरी भर्ना गरिएको छ ।
निर्वाचन प्रहरीहरूले प्रहरी जवानको प्रारम्भिक तलबमानसरह प्रतिदिन ८६९.४० रुपैयाँका दरले ४० दिनसम्मका लागि ३४ हजार ७७६ रुपैयाँ पाउँछन् । उनीहरूले मतदानको दिनको अघिपछि गरेर चार दिनका निम्ति प्रतिव्यक्ति प्रतिदिन ३०० रुपैयाँका दरले एकमुष्ट १ हजार २०० रुपैयाँ खाजा खर्च समेत पाउँछन् ।
हिमाली क्षेत्रका म्यादी प्रहरीहरूले पहाडी र तराई क्षेत्रको तुलनामा केही रकम बढी पाउने गर्दछन् । फरक सुविधाका कारण हिमाली क्षेत्रको हकमा प्रति निर्वाचन प्रहरी खर्च ११ हजार ५७० रुपैयाँ हुन आउँछ भने पहाडी क्षेत्रमा ७ हजार ९४५ रुपैयाँ र तराई क्षेत्रमा ६ हजार १७० रुपैयाँ पाउँछन् ।
तर हुम्लाका निर्वाचन प्रहरीहरुले पहिले भनिएको भन्दा कम तलब दिन लागिएको भन्ने सुनेपछि आन्दोलनमा उत्रिएका हुन् ।
प्रमुख जिल्ला अधिकारी रेग्मीले भने नियम कानुन अनुसार नै उनीहरूले सेवा सुविधा पाउने बताउँदै अनलाइनखबरसँग भने, ‘केही मिसअन्डरस्ट्यान्डिङका कारण उनीहरू आन्दोलित भएका हुनसक्छन् ।’ अनलाइनखबर