सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
नेपालगन्ज l चितवन क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका रूपमा घरदैलो अभियानमा सक्रिय रहेकी रेणु दाहालले आम मतदाताबाट पाएको माया, विश्वास र समर्थनले आफू अत्यन्त उत्साहित भएको बताएकी छन्।
घरदैलोका क्रममा स्थानीय जनसमुदायसँगको प्रत्यक्ष भेटघाट र संवादले आफ्नो आत्मबल थप मजबुत बनेको उनको भनाइ छ। भरतपुर महानगरपालिकामा नौ वर्षे कार्यकाल पूरा गर्दा जनताको हितमा इमान्दारिताका साथ काम गरेको कारण आज यस्तो अपार स्नेह र समर्थन प्राप्त गर्न सफल भएको उनले उल्लेख गरिन्।
निर्वाचन प्रक्रियामा सहभागी भएपछि जीत र हार दुवैलाई सहर्ष स्वीकार गर्नुपर्ने लोकतान्त्रिक मूल्यमा आफू स्पष्ट रहेको दाहालले बताइन्। यद्यपि, मतदाताको विश्वास, साथ र समर्थनका आधारमा फराकिलो मतान्तरले विजयी गराइने उच्च मनोबल पनि आफूमा रहेको उनको भनाइ छ।
यसैबीच, मतदातालाई भ्रमित पार्ने उद्देश्यले मत सर्वेक्षणको नाममा केही सञ्चारमाध्यमबाट निर्वाचन आचारसंहिताविपरीत भ्रामक समाचार प्रसारण भइरहेकोप्रति दाहालले गम्भीर ध्यानाकर्षण भएको जनाइन्। यस्ता कपोलकल्पित र भ्रमपूर्ण सामग्रीले समग्र निर्वाचन प्रक्रियालाई नै प्रभावित पार्ने भन्दै जिम्मेवार पत्रकारिता र सत्यतथ्यमा आधारित समाचार प्रकाशन/प्रसारण गर्न सम्बन्धित सबैमा उनले आग्रह गरिन्।
लोकतान्त्रिक मूल्य, मान्यता र मर्यादाको सम्मान गर्दै निष्पक्ष, स्वच्छ र विश्वसनीय निर्वाचन सुनिश्चित गर्न सबै पक्षको साथ र सहयोग आवश्यक रहेको दाहालको धारणा छ।